News Portal

सामुदायिक प्रहरीको साधारण सभामा विभिन्न व्यक्ति एवँ संस्थाहरु सम्मानित

रातोपोस्ट संवाददाता
५७५ पटक

काँकरभिट्टा, २२ फागुन । मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन् संविधान सभा सदस्य रविन कोइरालाले ब्यानर पढेर गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्ति एवँ संस्थाहरुलाई सम्मानित गरिएकाे थियाे । त्यसैगरी सम्मानित हुनेहरुमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाकी महिला प्रहरी गौरीमाया श्रेष्ठलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । सो अवसरमा सामुदायिक प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याएको भन्दै माइती नेपाल, सानाहात नेपाल, पूव मेची बस व्यवायिक संघ प्रा.लि., साहसी महिला नेपाल, मेची भन्सार कार्यालय, मेची नेत्रालयलगायत एक दर्जन भन्दाबढी संघ–संस्थालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कोइरालाले नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सामुदायिक प्रहरीले पुलको काम गरिरहेको बताए । समाजमा बढ्दै गएको विकृतीलाई न्यूनिकरण गर्न समेत विना वर्दीका प्रहरीको रुपमा सामुदायिक प्रहरीले निरन्तर प्रहरीसँग हातेमालो गर्दै अघि बढेको समेत बताए । सामुदायि प्रहरीका संस्थापक अध्यक्ष समेत रहेका कोइरालाले सशस्त्र द्वन्दबाट राज्यसत्ता परिवर्तनको अभियानमा लागेको विप्लव राजनीतिक मुलधारमा फर्किएको बताउँदै अब देश दिगो शान्तिको बाटोमा अघि बढेको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, एक नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई, नेपाली कांग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकी, जनता समाजवादीका पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी शुनिल दाहाल, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष हर्क फ्याक सुव्बा, सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा काँकरभिट्टाका प्रमुख प्रेम राई, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विक लगायतको आतिथ्यता रहेको थियो ।

प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्विनाथ पौडेलको सभापतित्व रहेको थियो । कार्यक्रममा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

काँकरभिट्टामा २०६० सालमा ११ जना सदस्यबाट सुरु भएको सामुदायिक केन्द्रमा हाल पाँच सय १० जना सदस्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । समितिकी उपाध्यक्ष बीना तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव गंगाप्रसाद कोइरालाले गरेका थिए । समितिको अधिवेशन आगामी चैत १३ गते सम्पन्न हुने प्रचारप्रसार समितिका संयोजक बालकृष्ण थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्