News Portal

कर्णाली प्रदेशमा तीन मन्त्रीको शपथ आज

रातोपोस्ट संवाददाता
७७४ पटक

<strong>काठमाडौं, ५ वैशाख ।</strong> कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै सरकार पुनर्गठन गर्ने भएका छन्। मुख्यमन्त्री शाहीले आफ्नो सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेका नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन्।

सरकार पुनर्गठन गरी नवनियुक्त मन्त्रीहरुलाई आजै दिउँसो शपथ खुवाइने मुख्यमन्त्री शाहीकाे सचिवालयले जनाएको छ। शुक्रबार प्रदेश सभामा भएको मतदानमा एमालेका चार सांसदले शाहीलाई विश्वासको मत दिन पार्टीको ह्वीप उल्लंघन गरेका थिए। शुक्रबार फ्लोर क्रस गर्नेमा एमालेका प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही थिए।

उनीहरुमध्ये तीन जना मन्त्री बन्ने टुंगो लागेको छ। थापा भौतिक पूर्वाधार मन्त्री, बुढा कृषिमन्त्री र शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्ने भएका हुन्। ३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन्। नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन। तर, एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए।

अब मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेर उनीहरुलाई जिम्मेवारी दिने बताइएको छ। कांग्रेसलाई पनि एक मन्त्री दिने सहमति भए पनि औपचारिक निर्णय भइसकेको छैन।

प्रतिकृया दिनुहोस्