News Portal

मलेसियालाई हराउँदै नेपाल लिग विजेता

रातोपोस्ट संवाददाता
५३१ पटक

काठमाडौं, ९ वैशाख । नेपालले त्रिकोणात्मक टि-ट्वान्टी आई क्रिकेट सिरिजअन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियाविरुद्ध ६९ रनको जित हासिल गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १८ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै केवल १४८ रन जोड्न सक्यो । जितसँगै नेपाल ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्डले चार खेलमा ५ अंक जोडेको छ । मलेसिया केवल १ अंकसहित तालिकाको पुछारमा रहँदै बाहिरिएको छ । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान ३ विकेट लिए । लामिछानेको यो टि ट्वान्टी आईमा एक सयौं खेल खेल हो भने ऐरीको यो टि ट्वान्टी आईमा डेब्यू खेल हो । त्यस्तै सुसन भारीले १ विकेट लिए । मलेसियाका लागि एमिउद्दिन रामलेले सर्वाधिक ४१ रन बनाए भने अहमेद फेजले ३१ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । टि-ट्वान्टीमा नेपालले बनाएको यो दोस्रो सर्वाधिक रन हो । यसअघि १३औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि नेपाल रक्षात्मक बनेको थियो । नेपाली पारी सम्हाल्न मैदानमा आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग ७३ रनको साझेदारीपछि नेपालको दोस्रो विकेट पतन भयो । १२औं ओभरमा दुवै खेलाडी आउट भएपछि नेपाल पुनः रक्षात्मक अवस्थामा फर्कियो । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए ।

कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाउँदा उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भए । नेपालका लागि सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए ।

प्रतिकृया दिनुहोस्