News Portal

समाधिस्थलमा डोजर लगाएको विरोधमा क्षमा पूजा गर्दै

रातोपोस्ट संवाददाता
८५८ पटक

झापा, १९ बैशाख । झापाको मेचीनगर नगरपालिकाले किरात समुदायको समाधिस्थल डोजर लगाएर नामेट पारिदिए पछि किरात समुदाय आन्दोलित बनेका छन् । किराती समुदायले पचाँस वर्ष अघिदेखि प्रचलनमा ल्याएको समाधिस्थलमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न भन्दै नगरपालिकाले बुधवार डोजर लगाएर नामेट पारिदिएको छ ।

उक्त घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको प्रतिक्रिया जनाउँदै नेपाल आदिवासी जनजाति महासंघले बिनाशर्त पुनःस्थापनाको माग गदै आएकाे छ ।

मेची पुलको दक्षिणपट्टि पाँच कठ्ठामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी समाधि रहेको छ । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङले बताए ।

आदिवासी जनजाति समन्वय परिषद् मेचीनगरले काँकरभिट्टाको किराती समाधिस्थल भत्काइएको घटनाको विरोधमा गर्ने भनिएको आन्दोलनका सबै कार्यक्रम कोरोना महामारी बढेको कारण जनाउँदै केही दिनका लागि स्थगित गरिएको अध्यक्ष खापुङले जानकारी दिएका छन । विरोध स्थगन गरिए तापनि आज विहान भत्काइएको समाधिस्थलमा सामूहिक क्षमापूजा गरिएको छ । पीडित परिवारका तर्फबाट पितृहरुको आत्माको चिर शान्तिका लागि क्षमा पूजाको आयोजना गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्