News Portal

जनता छटपटाउँदै बेडमा, राजनीतिक दल सत्ताको खेलमा

रातोपोस्ट संवाददाता
१००५ पटक

काठमाडौं, २२ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमणको दोस्रो लहरका कारण देशभर संक्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शय्या भरिएका छन् । ठूलो संख्यामा एकैपटक संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भई उपचार नै नपाउने अवस्था सिर्जना भएको हो । दैनिक पाँचदेखि सात हजारसम्म संक्रमित थपिँदा मृत्युदर पनि बढ्दै गएको छ । अस्पतालका शय्या संक्रमितले भरिएका छन् ।

संक्रमितहरु अस्पतालमा छटपटाइरहँदा राजनीतिक दलहरु भने यस्तो विषम परिस्थितिमा पनि सत्ताको खेलमा लागिपरेका छन् । प्रदेश सरकारमा देखिएको राजनीतिक सरगर्मी अहिले संघीय सरकारमा प्रवेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसद्मा विश्वासको मत लिने निर्णय भएसँग राजनीतिक माहोल पुनः तातिएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर समूहका सांसदको समर्थन पाइनेमा ढुक्क हुनुभएको छ । संसद्मा एमालेको १२१ र ठाकुर समूहको १६ सांसदको समर्थन पाइने भएपछि संसद्मा विश्वासको मत लिन लाग्नुभएको हो । २७५ सदस्यीय संघीय संसद्मा हाल २६६ जना सांसद रहेका छन् । संसद्मा कायम रहेको संख्याअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत लिन १३६ जना सांसदको आवश्यकता पर्छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्