News Portal

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
३१२ पटक

पोखरा, २२ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोकाे रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी (-यापिड डाइनोस्टिक टेस्ट) गरिएकोमा रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो ।

पोखरास्थित सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार मुख्यमन्त्री गुरुङलाई कोरोना देखिएको पुष्टि गरे । उनले भने, ‘माननीयज्यू हिजो (मंगलबार) अस्पताल भिजिटमा आउनुभएको थियो । हामीहरुसँग कुराकानीका क्रममा टाउको दुखेको भनेपछि आरडिटी गरिएकोमा पोजेटिभ देखिएको थियो । पछि स्वाब संकलन गरी ल्याब पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।’

डा. गौचनका अनुसार मुख्यमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ होम आइसोलेनमा बस्नुभएको बताए । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् । यसैबीच मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।

प्रतिकृया दिनुहोस्