News Portal

संखुवासभामा भाेलि रातिदेखि एक साता निषेधाज्ञा

रातोपोस्ट संवाददाता
४४१ पटक

संखुवासभा, २५ बैशाख । जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि निषेधाज्ञा जारी गरिएको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले सिफारिस गरे अनुसार बैशाख २६ देखि जेठ २ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

निषेधाज्ञाको अवधिमा बजार, पसल, सैलुन, ब्युटीपार्लर र जिमखाना बन्द रहने छन्। विवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै १५ जनाभन्दा बढी भेला हुन नपाउने प्रशासनले जनाएको छ। प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका गर्न अनुरोध समेत गरेको छ। जोखिमपुर्ण परिस्थीतिलाई समयमै नियन्त्रणमा लिन र संक्रमण थप फैलन नदिन पुर्व आदेशहरुको कडाई पालना गर्न सम्बन्धीत सबै सरोकारवालाहरु तथा जिल्लाबासीमा प्रशासनले अपिल गरेको छ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बुधबारदेखि नै जिल्लाका बजार, पसल बन्द छन्। उद्योग वाणिज्य संघ संखुवासभाले बुधबारदेखि बैशाख ३१ गतेसम्म अत्यावश्यकबाहेकका व्यवसाय, साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघ संखुवासभाका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधानले जानकारी दिए। खाद्यान्नको पसलहरु बिहान ६ देखि ९ र बेलुकी ४ देखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय भएको उनले बताए। कोरोनाको दोस्रो लहर सुरु भएपछि संखुवासभामा ९० जना संक्रमित भएका छन्। जसमध्ये १४ जना निको भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिकृया दिनुहोस्