News Portal

सचेत रहौं, मनोबल बढाऔं

अन्नपूर्ण पोस्ट
४४० पटक

काठमाडौं, १ जेठ । कोरोना संक्रमणको दर तीव्र छ। अस्पतालमा ठाउँ छैन। त्यसमाथि अक्सिजन अभाव थपिएको छ। यस्तो अवस्थामा धेरैलाई चिन्ता छ– संक्रमण भइगयो भने कसरी पार लगाउने होला ? चिकित्सक र विज्ञको सुझाव छ– यसको सबैभन्दा ठूलो उपचारै मनोबल हो। सावधानी अपनाऔं, भरसक रोग लाग्नै नदिऔं। लागिगए चिन्ता नलिऔं। उच्च मनोबल बनाऔं।

‘आत्मशक्ति बलियो छ भने मानिसले जस्तोसुकै रोगलाई पनि जित्न सक्छ’, नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी भन्छन्, ‘तर, मानसिक रूपमा कमजोर भयौं भने सानोतिनो रोगले पनि कमजोर बनाउँछ।’ असामान्य परिस्थितिमा आत्तिनु सामान्य भए पनि त्यसले दैनिक जीवन प्रभावित हुन नहुने मनोविद् विजया बिजुक्छेको सुझाव छ। आफूले चाहेभन्दा भिन्न किसिमका घटनाले पनि भय उत्पन्न हुने उनको बुझाइ छ।

‘अहिलेको डर र चिन्ता कोभिडको मात्र होइन। सबैभन्दा ठूलो चिन्ता आईसीयू र भेन्टिलेटर अभाव हो’, बिजुक्छे भन्छिन्, ‘अस्पतालहरूमा बेड नपाउनु, अक्सिजन नहुनुजस्ता कुरालाई लिएर मानिस आत्तिएका छन्।’ कोरोनासँग लड्न शरीरमा रोग प्रतिरोधात्मक शक्ति आवश्यक पर्छ। मानसिक वा मनोवैज्ञानिक रूपमा मनोबल उच्च हुनुपर्छ। अनि मात्रै रोगलाई जित्न सकिन्छ। ‘म ठीक छु, अरू सबै संक्रमित छन् भन्ने मानसिकता राख्नुपर्छ। संक्रमण भयो भन्दैमा मरिहाल्छु कि भन्ने भावना त्याग्नुपर्छ’, डा. बुढाथोकी भन्छन्, ‘कोरोना संक्रमण भएका ८५ प्रतिशतमा लक्षण देखिँदैन। उनीहरूको अवस्था सामान्य नै हुन्छ। सामान्य अवस्था हुँदाहुँदै पनि मलाई रोग लाग्यो, अस्पताल नै जानुपर्छ भन्ने मानसिकता त्याग्नुपर्छ।’

महामारीका बेला भय हटाएर आत्मबल बढाउन ध्यान गर्न सामुदायिक प्राकृति चिकित्सालय, रजहर, नवलपरासीका डा. विनोद पौडेल सुझाउँछन्। यस्तै, संगीत सुन्नुपर्ने, नृत्य गर्नुपर्ने, श्वास–प्रश्वास बढाउने कसरत गर्न पर्ने डा. पौडेल बताउँछन्। ‘कोरोनालाई जित्न रोग प्रतिरोधात्मक क्षमता मजबुत हुनुपर्छ। अनावश्यक डर, चिन्ता र भयले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ’, प्राकृतिक चिकित्सक पौडेल भन्छन्, ‘हामीले सकारात्मक मात्रै सोच्नुपर्छ। राम्रा–राम्रा कुरा मात्रै हेर्नुपर्छ। साथै, ध्यान गर्दा, संगीत सुन्दा, नृत्य गर्दा तथा आध्यात्मिक र धार्मिक किताबहरू पढ्दा डर, चिन्ता हटाउन सकिन्छ। घरभित्रै संगीत सुन्दै नृत्य गर्ने हो भने शारीरिक कसरत पनि हुन्छ र तनावको व्यवस्थापन पनि हुन्छ।’

तनाव व्यवस्थापन गर्न पर्याप्त पोषक तत्व, पानी, झोल कुरा नियमित खान डा. बुढाथोकी सुझाउँछन्। यस्तै नियमित व्यायाम गर्ने, धूमपान तथा मद्यपान नगर्नेजस्ता आधारभूत कुरालाई ख्याल राख्नुपर्ने उनी बताउँछन्।

शारीरिक रूपमा स्वस्थ हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खानपिन, व्यायाम, आराम मात्र होइन, आत्मविश्वास बढाउनुपर्नेमा बिजुक्छे जोड दिन्छिन्। ‘हामीले आत्मविश्वास बलियो बनाउन व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। केही असहज भए आत्तिने, डराउने, हडबडाउने होइन कि केही व्यवहार परिवर्तन गर्नुपर्छ’, उनी भन्छिन्, ‘लामो–लामो सास फेर्ने, पानी, जुसलगायत झोल पदार्थ पटक–पटक पिउने र भावनालाई बहकिन नदिने गर्नुपर्छ।’

विज्ञका अनुसार डर, त्रास, चिन्ता थप्ने र उनीहरूलाई भड्काउने काम युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालले गरिरहेका छन्। त्यसैले सबैभन्दा पहिले सकारात्मक कुरालाई मात्र ग्रहण गर्ने हो भने डर, चिन्ताले नसताउने डा. बुढाथोकी बताउँछन्।
‘हामी सामाजिक सञ्जालमा धेरै समयसम्म सक्रिय हुनुहुँदैन। आफूले सामाजिक सञ्जालबाट कस्तो सूचना लिने, कस्तो नलिने भनेर छुट्याउनुपर्छ’, उनी भन्छन्, ‘जस्तोसुकै कुरा हेर्दा हामीलाई भड्काउने र डर चिन्ता थप्न सक्छ।’

बिजुक्छे अहिलेको असामान्य अवस्थामा सामाजिक सञ्जालबाट टाढै रहँदा राम्रो हुने बताउँछिन्। ‘अहिले भ्यु कमाउन युट्युबमा विभिन्न किसिमका भिडियो राख्ने गरिएको छ। त्यस्ता भिडियो हेर्दा मानिसको भावनालाई बहकाउने काम गर्छ’, उनी भन्छिन्, ‘त्यसैले अहिलेको असामान्य अवस्थामा सामाजिक सञ्जालबाट टाढै बस्दा नै राम्रो हुन्छ।’

प्रतिकृया दिनुहोस्