News Portal

प्रहरीले देशभरबाट संकलन गर्याे ९ हजार अक्सिजन सिलिन्डर

रातोपोस्ट
६६० पटक

काठमाडौं, ४ जेठ । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २६ वैशाखयता सोमबार साँझसम्म देशभरबाट झन्डै ९ हजार अक्सिजन सिलिन्डर संकलन गरिएको छ । भरिएको अवस्थामा रहेका अस्पताल तथा खाली सिलिन्डर अक्सिजन उद्योगलाई दिइएको जानकारी उनले दिए ।

प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डरमध्ये भरिएको अवस्थामा रहेका अस्पताल र खाली अक्सिजन प्लान्ट रहेका उद्योगलाई हस्तान्तरण गर्दै आएको छ । ‘सोमबार साँझसम्म ९ हजार थान संकलन भयो,’ प्रहरी केन्द्रीय प्रवक्ता कुँवरले राजधानीसँग भने, ‘तीमध्ये ७ हजार ७ सय २६ थान वितरण गरिएको छ ।’

संकलित सिलिन्डर प्रहरीले सीसीएमसी, डीसीएमसी तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अस्पताललाई दिँदै आएको हो । संकलन गरिएकामध्ये १ हजार १ सय ८३ थान खाली सिलिन्डर हस्तान्तरण गर्न बाँकी रहेको र ती सिलिन्डर पनि अक्सिजन उद्योगलाई भर्न दिएर अस्पतालमा पठाइने प्रहरीले भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्