News Portal

रहिनन् वरिष्ठ साहित्यकार डा.वानीरा गिरी

रातोपोस्ट संवाददाता
१३४० पटक

काठमाडौं,  १० जेठ । वरिष्ठ साहित्यकार डा.वानीरा गिरिको निधन भएको छ । कोरोना संक्रमित गिरीको आइतबार राती ह्रदयघातको कारण निधन भएको हो । मधुमेह र अल्जाइमर रोगबाट पीडित उनको बानेश्वरस्थित निजामती अस्पताल उपचारको क्रममा निधन भएको हो । ७६ वर्षकी गिरी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् ।

साहित्यमा उपन्यास, कविता र निबन्ध बिधामा कलम चलाउँदै आएकी उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रह गरेर १४ कृति प्रकाशित छन् । ती मध्ये केही कृति विश्वका विविध भाषामा समेत अनुवाद भएका छन् ।

उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी थिइन् । लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन समेत रहेकी गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाले सत्तारोहणसँगै रु ५ लाख नगद राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’ को सम्मान दिएका थिए । गिरीको नामबाट विसं २०७६ मा वानीरा फाउण्डेशनको समेत स्थापना भएको छ । २००२ सालमा दार्जिलिङको खर्साङमा जन्मिएकी गिरी २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध भएकी थिइन् । गिरीका पति, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस्