News Portal

जघन्य घटनाका अपराधीलाई कारबाही गर्न सरकारले सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
५३६ पटक

काठमाडौं, २१ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा उनले त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने  बताएका हुन ।

“मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ । छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ्र, ल्याइरहेको छ ।

त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन,” उनले भनेका छन्, “जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो । त्यसैले जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्दछु ।” सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्ने संकल्प पूरा गर्नका निम्ति भेदभावरहीत सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्