News Portal

सर्पले डसेर सीमा सुरक्षा खटिएका सशस्त्रका जवान घाइते

रातोपोस्ट संवाददाता
४९८ पटक

झापा, ३० जेठ । झापाका सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई विषालु सर्पले डसेको छ। सर्पको डसाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान २२ वर्षीय विवेक रजतको सर्पदंश उपचार केन्द्र चाराआलीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।

दक्षिणी झापाको कचनकवल गाउँपालिका- ४ स्थित बयरवारिमा सीमा सुरक्षामा खटिएका जवान रजतलाई आइतबार बिहान ३ बजे विषालु सर्पले डसेको थियो। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट केचना मातहत सीमा पिलर सुरक्षाका लागि बनाइएको पोस्टमा ती जवान खटिएका थिए। उनलाई सर्पले देब्रे कानमा डसेको बताइएको छ। सर्पको डसाइबाट घाइते भएका उनलाई तत्काल सशस्त्र प्रहरीकै गाडीमा राखेर उपचारका लागि सर्पदंश उपचार केन्द्र चाराआली लगिएको बताइएको छ।

उनको अवस्थामा खतरामुक्त रहेको र आजै साँझसम्म डिस्चार्ज दिने एसपी पाण्डेको भनाइ छ। मनसुन सुरु भएलगत्तै दक्षिणी झापाको कचनकवलमा सर्पको बिगबिगी बढ्ने गरेको छ। कचनकवलमा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको डसाइबाट हरेक वर्ष स्थानीयले ज्यान गुमाउँदै आएका छन्। त्यसलाई मध्यनजर गरी सरकारले दिएको अनुमतिको आधारमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा गाउँपालिकाले असार ३ गतेदेखि सर्पदंश उपचार केन्द्र सञ्चालन ल्याउन लागेको छ।

प्रतिकृया दिनुहोस्