News Portal

पृथ्वी सुब्बाले पूर्व मुख्यमन्त्रीको रुपमा कुनै सुविधा नलिने घोषणा

रातोपोस्ट संवाददाता
४२२ पटक

पाेखरा, ३१ जेठ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा नलिने बताएका छन्। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्‌ले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानुन बनाउने निर्णय गरेको समाचार बाहिरिएपछि गुरुङले पूर्व मुख्यमन्त्रीका रुपमा कुनै सुविधान नलिने घोषणा गरेका हुन्। गुरुङको सचिवालयका अनुसार उनले भनेका छन्, ‘मलाई पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन। त्यसैले लिनेछैन।’

पूर्व मुख्यमन्त्रीलाई सेवासुविधा दिने निर्णय भएको भनेर आएको समाचारबाट धेरैमा भ्रम पर्न गएको भन्दै नलिने प्रष्ट पारिएको उनको सचिवालयले जनाएको छ। सचिवालयले प्रष्ट पार्दै भनेको छ, ‘माननीय पृथ्वी सुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट पारिन्छ।’

यसअघि गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका थिए। मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर आर्थिक भार बढाउन नखोजिएको उनको भनाइ थियो। प्रदेशमा हालसम्म बनेका कानुनमा पूर्व मुख्यमन्त्रीको मर्यादाक्रम, सुरक्षा व्यवस्थालगायत विषय नभएकाले कानुन बनाएर व्यवस्थित गर्न खोजिएको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्