News Portal

झापा गाउँपालिकाको बजेट ४५ करोड ७४ लाख सार्वजनिक

रातोपोस्ट संवाददाता
७०० पटक

झापा, ११ असार । झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४५ करोड ७४ लाख ५ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीले गाउँपालिकाको नवौं गाउँ सभामार्फत गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेकी हुन । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बुढाथोकीले कोरोनाले ल्याएको चुनौती र अवसरलाई सामना गर्ने र अर्थतन्त्रको पुर्न उत्थान गर्दै तिब्र आर्थिक विकासमा लैजाने गरी बजेट विनियोजन गरिएको बताइन् ।

उपाध्यक्ष बुढाथोकीले “झापाको आधारस् कृषिमा आधुनिकीकरण, आर्थिक समृद्धिको पुर्वाधार” भन्ने मुल नारा सहित गाउँपालिकाबासीको जीवनस्तरमा परिवर्तन ल्याई गरिबी न्यूनिकरण गर्दै विकासको प्रतिफलमा न्यायचित वितरण गर्दै परिवर्तनको प्रत्यक्ष अनुभूति गराउने यस बजेटको उदेश्य रहेको बताइन् । उनले बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रम, विनियोजन विधेयकमा आएका सुझावलाई समेटेर कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने गरी ल्याइएको बताइन् । बजेट प्रस्तुत गर्दै उनले झापा गाउँपालिकाको नीति तथा कार्यक्रमलाई यस बजेटले सके सम्म सम्बोधन गर्ने र कार्यक्रमलाई सोही अनुरुप बजेट विनियोजन गर्ने प्रयास गरेको बताइन् ।

गाउँपालिकाले आय तर्फ संघीय राजश्व बाँडफाँड तर्फ रु ८ करोड २४ लाख ३५ हजार,संघीय सशर्त अनुदान रु १९ करोड २६ लाख,संघीय समानीकरण अनुदान रु १२ करोड ७१ लाख,संघी समपुरक अनुदान रु १ करोड १३ लाख,प्रदेश समानिकरण अनुदान रु ७३ लाख ४६ हजार,प्रदेश राजश्व बाँडफाँड रु ४२ लाख २४ हजार ५ सय र आन्तिक आय रु १ करोड ५० लाख गरेर जम्मा अनुमानित आय रु ४५ करोड ७४ लाख ५ हजार ५ सय प्रस्तुत गरेको छ।

गाउँपालिकाले व्ययतर्फ चालू खर्च शिर्षकका सम्पुर्ण क्रियाकलापहरुका लागि एक मुष्ट रु ६ करोड ५३ लाख ४० हजार रुपैयाँ विनियोजन गर्दै पुँजीगत खर्च तर्फ आर्थिक विकासतर्फ रु २ करोड ३३ लाख, पुर्वाधार विकासतर्फ रु ११ करोड ९० लाख, वन वाताबरण विपद तथा सरसफाईतर्फ रु ६ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ रु ८ लाख ३५ हजार ५ सय, सामाजिक विकासतर्फ रु २ करोड ७० लाख ३० हजार, संघीय सशर्त अनुदान रु १९ करोड २६ लाख, संघीय विशेष अनुदान रु १ करोड ७४ लाख र संघीय समपूरक अनुदान रु १ करोड १३ लाख गरेर जम्मा अनुमानीत व्यय रु ४५ करोड ७४ लाख ५ हजार ५ सय प्रस्तुत गरेको छ। गाउँपालिकाले चालू आ.व २०७७/०७८ का लागि गत वर्ष रु ४२ करोड १६ लाख १२ हजार दुई सय तिस बिनियोजन गरेको थियो भने हाल सम्म पुँजीगत तर्फ र चालू तर्फ ६०५ खर्च भएको जनाएको छ।

प्रतिकृया दिनुहोस्