News Portal

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

रातोपोस्ट संवाददाता
४६५ पटक

बागलुङ, १५ असार । बागलुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार १७ दिनदेखि बेपत्ता छन् । घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए । चार दिन बित्दासमेत उनी नभेटिएपछि प्रदेश मुकामबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्किएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता छन् । परिवारजनका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् । सुनारले सधैँ सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताए । “दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौँ, अझै केही पत्ता लाग्न सकेको छैन”, उनले भने । परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजपडताल जारी राखेको छ । यतिका दिनसम्म उहाँ नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्