News Portal

अनाथ बालबालिकासँग असार पन्ध्रको खुशी साटासाट

रातोपोस्ट संवाददाता
४४६ पटक

झापा, १५ असार । अनाथ बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएको मेचीनगरको जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्न छलफल गरिएको छ । असार पन्ध्रको अवसरमा मंगलबार संस्थाको कार्यालय मेचीनगर–७ मा आयोजित कार्यक्रममा स्थानीय सरकार तथा सामाजिक संघ संस्थाका अगुवाहरुसँग छलफल चलाइएको हो । संस्थाका अध्यक्ष बीना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जागृत बाल उद्धार केन्द्र सञ्चालन गर्न दीघो आयस्रोत नभएकाले आश्रित बालबालिकाको भविष्य अन्धरकार हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेतीले निस्वार्थ सेवाभावले सञ्चालित यसखाले संस्थाको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताइन् । उनले जागृत बाल उद्धार केन्द्रलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताइन् । यद्यपि प्रक्रिया पुराएर कानुन सम्मत रुपमा आउनु पर्ने बताइन् । कार्यक्रममा समाजसेवी तथा एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले नसक्नेलाई सक्नेले सहयोग गरेर समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङ, त्रिवेणी टोलका कुमार गुरुङ, सुनगाभा टोलकी भावना ढुंगेल लगायतले विचार राखेका थिए ।

विकास देवकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बालकृष्ण थापाले सबैको सहयोग र सद्भावबाट मात्रै संस्था सञ्चालन सम्भव हुने बताए । सोही अवसरमा काँकरभिट्टाका स्थानीय युवा विकास घिमिरेले संस्थालाई ५ हजार रुपैयाँ सहयोगको घोषणा गरे । कार्यक्रममा मेचीनगर प्रमुखसहित १५ वटै वडाका वडाध्यक्षलाई निमन्त्रणा गरिएको थियो । तर, अधिकांश जनप्रतिनिधिहरु कार्यक्रममा उपस्थित भएनन् । संस्थाको निमन्त्रणालाई सामान्य रुपमा लिएकोप्रति आयोजकले दुःख व्यक्त गरेको छ । संस्थाका एक सदस्यले प्रश्न गरे, ‘हुने ठाउँमा उहाँहरु (जनप्रतिनिधिहरु) जानुहुन्छ, तर यो पवित्र ठाउँमा आउन नभ्याउने कस्तो जनप्रतिनिधि ?’ सहयोगको भरमा चल्दै आएको जागृत बाल उद्धार केन्द्रमा हाल १७ जना बालबालिका आश्रित छन् । उनीहरुलाई खानबस्नसहित शिक्षाको प्रबन्ध मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्