News Portal

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटी विस्तार

रातोपोस्ट संवाददाता
३५० पटक

काठमाडौं,  १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको हो । तर आयोजक कमिटी भंग हुनु अघि बैठकले स्थायी कमिटी विस्तार गरेको छ ।

अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट हुनेछन । महाधिवेशन आयोजक कमिटी खारेज गरेसँगै माधवकुमार नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

अदालतको आदेश अनुसार सबै निर्णय निष्प्रभावी भएको भनिएपनि बैठकले स्थायी कमिटी विस्तार गरेको छ । जसमा पूर्वमाओवादीका ४ र एमालेकै ४ नेता समेटिएका छन्। महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाएको छ ।

यसअघिका एमालेका पदाधिकारी यथावत रहने निर्णय भएको छ । एमालेले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाएको छ । आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको दावी गरिएको छ ।

प्रतिकृया दिनुहोस्