News Portal

माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि आन्दोलन फिर्ता

रातोपोस्ट संवाददाता
४५८ पटक

झापा, १६ असार । स्थानीय सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरूले आजदेखि आन्दोलन फिर्ता लिएको छ । सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै आन्दोलित बनेका बाल शिक्षक र कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएको बाल शिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन ।

भद्रपुर नगरपालिका समक्ष एक सूत्रीय माग राख्दै शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका ६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्त रुपमा असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए । आन्दोलित बनेका उनीहरूले प्रत्येक दिन नगरपालिकामा गएर शान्तिपूर्ण धर्ना दिँदै आएका थिए । शिक्षक महासंघ र नगरपालिकाबिच भएको वार्ता पश्चात् आज चौथो दिन भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सरकारले तोकेको न्यूनतम पारिश्रमिक १५ हजार दिने प्रतिबद्धता जनाएपछि हामीले आन्दोलन फिर्ता लिएको उनले बताइन् ।

मेयरज्यूले आगामी आर्थिक वर्ष २०७८ र ७९ को बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार पारित गरेर लैजाने प्रतिबद्धता जनाउनु भयो, उनले भनिन्, हामीले उठाएको माग श्रावण १ गतेदेखि लागू हुने भएपछि यस आन्दोलनलाई सफल बनाउने सबैलाई धन्यवाद दिन चाहन्छौँ ।

सरकारले साउन १ गतेदेखि तोकेको न्यूनतम मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै नेपाल शिक्षक महासंघ, बाल शिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत जेठ २७ गते नगरपालिकाकालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो ।

तर, नगरपालिकाले नगर सभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षकको तलब ३ हजार र कर्मचारीको तलबका २ हजार बढाउने उल्लेख गरेको थियो सरकारले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याएको र सम्बन्धित पालिकाले सात हजार थपेर न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाले बजेटमार्फत कार्यान्वयनमा नल्याउँदा आन्दोलनमा उत्रिनु परेको शिक्षक महासंघ नगर समितिका अध्यक्ष गणेश गिरीले बताए ।

नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्