News Portal

माओवादी कार्यदलकाे सुझाव पार्टीमा आलोचना र आत्मालोचना हुन छाड्यो

रातोपोस्ट संवाददाता
३५० पटक

काठमाडौं, १७ असार । नेकपा माओवादी केन्द्रको संगठनात्मक कार्यदलले पार्टीमा आलोचना र आत्मालोचना हुनै छाडेको विषय उठाएको उठाएको छ। माओवादी स्थायी कमिटीमा पेश भएको संगठात्मक कार्यदलको प्रतिवेदनमा कम्युनिस्ट आदर्शको मूलपक्ष मानिएको आलोचना र आत्मआलोचना सुन्नै नसक्ने प्रवृत्ति नेता कार्यकर्तामा विकास भएको उल्लेख छ।

‘कम्युनिस्ट आदर्शको मूलपक्ष आलोचना, आत्मालोचना हुन छाडेको छ। भविष्यमा कमिटी चुस्त दुरुस्त बनाउने कुरालाई ध्यान दिँदै हाल सम्बन्धित कमिटीको नेतृत्वको मुख्य टिमबाट यसको शुरुवात गर्नुपर्छ,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ। केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय बनाउने भएपछि ४० वर्ष भन्दा कम उम्मेरका युवालाई समेट्न पनि कार्यदलले प्रतिवेदनमा सुझाव दिएको छ। पार्टीमा काम गर्ने सक्रिय, इमान्दार र वैचारिक युवा नेताको खोजी गरेर प्रदेश र जिल्लाबाट सिफारिस गर्न पनि प्रतिवेदनमा सुझाव दिएको छ।

पार्टीमा हाल १ सय ८२ जना मात्रै केन्द्रीय कमिटी सदस्य भएकोमा थप १ सय १७ जना नयाँ युवाहरुले अवसर पाउने भएका छन्। केन्द्रीय कमिटीमा समेट्दा सबै समुदायको प्रतिनिधित्व हुनेगरी युवालाई समेट्ने भनिएको छ। जसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित केन्द्रीय सदस्य राख्नुपर्ने प्रस्ताव गरिएको छ। यस्तै, स्थायी समिति, पोलिटब्यूरो, प्रदेश र जिल्लाका अध्यक्ष तथा सचिव, स्थानीय कमिटी (महानगर, उपमहानगर, नगर, गाउँ र वडा कमिटी)का अध्यक्षहरु अनिवार्य पेसेवर कार्यकर्ता (होलटाइम कार्यकर्ता) हुनुपर्ने कार्यदलको प्रतिवेदनमा समेटिएको छ।

हरेक तहको मुख्य कार्यकारी भूमिकामा रहने नेताको छनोट गर्दा आफ्नो कमिटीलाई समग्रमा कमाण्ड गर्न सक्ने हुनुका साथै इमान्दारिता, सक्रियता र कार्यदक्षताको आधारमा गर्नुपर्ने पनि प्रतिवेदनमा भनिएको छ। पार्टीमा संगठित सदस्यले आधा दिनको श्रम लेबी बापत पार्टीमा बुझाउनुपर्ने व्यवस्था गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ।

प्रतिकृया दिनुहोस्