News Portal

  • चार लेन सडक विस्तारको योजना

    रातोपोस्ट संवाददाता
    १०२ पटक

    काठमाडौँ, १८ असार । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ । राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आठवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको सडक विभागले जनाएको छ । त्यस खण्डको लम्बाइ १३० किलोमिटर रहेको छ । सरकारले अहिले दुई लेन भएको सो राजमार्गलाई चार लेनमा विस्तार गरिरहेको छ ।

    विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने सरकारको नीतिअनुसार राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढेको बताउनुभयो । विस्तारका लागि ‘डीपीआर’ निर्माण गर्न आठवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारीसमेत उहाँले दिनुभयो । भारत, दक्षिण कोरिया, सिङ्गापुर, टर्की र स्पेनका परामर्शदाता कम्पनी सूचीकृत भएको हो ।

    सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई लक्ष्मीदत्त भट्टले सो राजमार्ग खण्डको विस्तारका लागि डीपीआर तयार गर्न सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूको अहिले प्राविधिक र आर्थिक मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो । विभागले २०७७ जेठ २२ गते आशयपत्र माग गरेकोमा ४२ वटा परामर्शदाता कम्पनीको निवेदन परेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    प्रतिकृया दिनुहोस्