News Portal

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

रातोपोस्ट
३२० पटक

काठमाडाैं, १८ असार । प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो ।

भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो । भारतले पाम तेल आयात खोलेपनि निकासी गर्न कम्तीमा अझै १ महीना लाग्ने ओबीसी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । ‘भारत निकासी रोकिएपछि उद्योगीहरू अहिले भटमासको तेल निर्यातमा केन्द्रित भएका छन् । कच्चा पाम आयल भित्र्याएर प्रशोधन र निकासी गर्न १ महीना समय लाग्छ,’ उद्यमी रुंगटाले आर्थिक अभियानसित भने ।

नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट ल्याएको कच्चा पाम प्रशोधन गरी भारत निकासी गर्छन् । आयातित पाम आयलले आफ्ना उद्योग र कृषकलाई प्रतिकूल प्रभाव पारेको भन्दै भारतले २०७७ वैशाख ३० गतेयता आयातमा पूर्ण रोक लगाएको थियो । त्यसअघि २०७६ पुस २३ मा लगाइएको रोक १ महिनापछि परिमाणात्मक बन्देजसहित खुला गरेको थियो । भारतले पाम आयल आयातमा उच्च दरको महसुल लगाएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्