News Portal

महन्थ पक्षकी राज्यमन्त्री राजीनामा दिएर उपेन्द्र पक्षमा लागेपछि शंकर पोखरेल अप्ठयारोमा

रातोपोस्ट संवाददाता
४४० पटक

बुटवल, १८ असार ।  आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । राज्‍यमन्‍त्री रायमाझीको राजीनामासँगै विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । पार्टी निर्णय अनुसार मुख्यमन्त्री पोखरेललाई सहयोग गर्न नसक्ने भन्दै रायमाझीले राजीनामा दिएपछि प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले बहुमत गुमाएको विपक्षी दलका नेताहरूले बताएका छन्।

८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री पोखरेलको पार्टी एमालेका ३८ सांसद् छन् भने जसपाबाट थप तीन जना मन्त्री उनको सरकारमा सहभागी छन् । प्रदेश सभामा एकल बहुमत प्राप्त संसदीय दलको नेताको रूपमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले त्यो हैसियत पहिले नै गुमाएका थिए । तर, जसपाका चार जना सांसद्लाई मन्त्री बनाएर आफ्नो संकट तत्काललाई टारेका उनलाई रायमाझीको राजीनामाले संकट थपेको छ।

जसपाका संघीय सांसद् मोहम्मद इस्तियाक राईले ट्वीटरमा रायमाझीको राजीनामा पत्र पोष्ट गर्दै लेखेका छन्, ‘शंकर पोखरेल ज्यू अब त राजीनामा दिनुस् केही लाज, शरम, नैतिकता बाँकी छ भने !’ प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले पनि मुख्यमन्त्रीसँग अब बहुमत नरहेको भन्दै राजीनामा दिन माग गरे। ‘मुख्यमन्त्रीले शासन गर्ने वैधानिकता गुमाउनुभयो । त्यसैले तुरून्त राजीनामा दिनुपर्छ,’ उनले भने ।

त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक तुलराम घर्ती मगरले पनि मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताए । ‘बहुमत गुमाएपछि पनि पदमा बसिरहन मिल्दैन। राजीनामा आउनु पर्छ,’ उनले भने । लुम्बिनी प्रदेशमा सत्तारूढ एमालेलाई जसपाका तीन सांसद्को साथ छ । त्यसबाहेक नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी लगायतका विपक्षी दलले मोर्चाबन्दी गरेर नयाँ सरकार बनाउने प्रयास गरिरहेका छन्। प्रदेश सभामा अहिले ८३ प्रदेश सभा सदस्य रहेकाछन् । बहुमतका लागि ४२ सांसद आवस्यक हुन्छ तर पोख्रेलसंग एमालेका ३८ र जसपा ठाकुर पक्षका ३ जना मात्र सासद छन् ।

प्रतिकृया दिनुहोस्