News Portal

झापाका स्थानीय तह बाढीको उच्च जोखिम

रातोपोस्ट संवाददाता
४३५ पटक

झापा, १९ असार । वर्षायाम सुरु भएसँगै दक्षिणी झापाका बासिन्दा बाढीबाट प्रताडित हुने गरेका छन् । झापाको कचनकवल, बाह्रदशी, गौरीगंज र झापा गाउँपालिकाका बासिन्दा वर्षा यामसँगै हरेक वर्ष त्रासमा बाँच्न विवश छन् । यो वर्ष पनि समयमा नै मनसुन सुरु भएको छ । मनसुन सुरु भएसँगै समयमा नै खेतीपाती गर्न पाइने भन्दै एक थरी कृषक खुसी छन् भने अर्कातर्फ खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने र खेती गर्ने कृषकहरू भने त्रसित अवस्थामा छन् ।

विशेषगरी झापामा रहेका तीन दर्जन खोला र नदीमध्ये पनि वर्षा याममा आठ वटा नदीमा आउने बढीले बढी क्षति पुर्‍याउँदै आएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बर्सेनि बर्षायाममा आउने बाढीका कारण सयौ घर विस्थापित हुने र खेतीयोग्य जमिन कटान हुने क्रम नरोकिएको बताए ।बाढीका कारण सयौँ विगाह खेती योग्य जमिन बगरमा परिणत हुने गरेको छ भने अनाहकमा धेरै नागरिकले ज्यान समेत गुमाउँदै आएका छन् । वर्षा याम सुरु भएसँगै झापामा बाढीबाट आम नागरिकलाई जोगाउन विपद् प्रतिकात्मक कार्य योजना तयार गरिए पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

त्यसो त बाढी प्रभावितहरूका लागि उद्धार तथा राहतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित नेपाल रेडक्रस सोसाइटीले हरेक वर्ष महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सीमित श्रोत र साधनका बिच पनि नेपाल प्रहरीले बाढी प्रभावितहरूलाई उद्धार र व्यवस्थापन कार्यमा सहयोग गर्न तत्पर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए। निरन्तर वर्षा भएका कारण थप क्षति हुन नदिन उद्धार र राहतको लागि तयारी अवस्थामा रहेको उनको भनाई छ ।

विशेषगरी झापाका कनकाई, बिरिङ, मेची, रतुवा, अन्धुवा, टाङ्टिङ, किस्ने लगायतका खोला तथा नदीमा आएको बाढीका कारण बर्सेनि नदी आसपासका बस्ती डुबानमा पर्दै आएका छन् । बाढीकै कारण हरेक वर्ष धेरैले अकालमा ज्यान गुमाउँदै आएका छन् । बर्सेनि आउने बाढीबाट नागरिकको जीउ धनको सुरक्षाका लागि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको उचित व्यवस्थापन गर्दै खोला र नदीमा बाध पक्की बाँध्न जरुरी देखिन्छ । तर, वर्षामा बाढीको निरीक्षण गर्ने र बाँध बाँध्ने आश्वासन दिने तर हिउँदमा बिर्सने बानीले यहाँको समस्या ज्यूँकात्यू रहेको छ ।

प्रतिकृया दिनुहोस्