News Portal

४० विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण

रातोपोस्ट संवाददाता
३४६ पटक

विर्तामाेड, २२ असार ।  बिर्तामोड नगरपालिका वडा नम्बर ९ ले  ४० जना विपन्न दलित परिवारहरूलाई बंगुरका पाठा वितरण गरेकाे छ ।  दलित जागरण अभियान केन्द्र विर्तामोडले आयोजना गरेको एक कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडा नम्बर ९ कि वडाध्यक्ष पवित्रा पाठकले  विपन्न दलित परिवारहरूलाई  वंगुरका पाठा वितरण गरेका हुन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ९ को  बंगुरपालन अन्तर्गतकाे २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा  ४० जना विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण गरीएको वडाध्यक्ष पाठकले जानकारी दिइन् । ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले  बंगुर पालनबाट राम्रो लाभ लिन सकिने र याे व्यवसायबाट विपन्न परिवारकाे आर्थिक अवस्था दरिलाे बन्ने  भन्दै पालन पोषणमा ध्यान दिन आग्रह गरेका छन् । नगर प्रमुख शिवाकाेटीले बंगुर पालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरीएका बंगुरहरुको इन्स्युरेन्स र बिउको लागि भाले बंगुर खरिद गरिदिने  बताए । कृषिमा आत्मनिर्भर बनाउँदै विपन्न दलित समुदायको आर्थिक स्तर वृद्वि गर्ने नगरपालिकाको उदेश्य रहेको पनि उनले बताए ।

दलित जागरण अभियान केन्द्रले बंगुर पालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटा भन्दा बढी बंगुरका पाठा वितरण गर्दै आएको जनाइएको छ ।

दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख शिवाकोटी, बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक, नेकपा माओवादी केन्द्र बिर्तामोडका अध्यक्ष मोहन सुव्वा, दलित जागरण अभियान केन्द्रका उपाध्यक्ष लक्ष्मी मोते, सचिव गोपाल लकान्द्री, सह-सचिव सुमन त्रिखत्री, कार्यपालिका सदस्य संगीता शिवा,वडा नम्बर ९ का वडासदस्य बालकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्