News Portal

पत्रकार मण्डललाई धम्की दिने प्रधानाध्यापकलाई कारबाही गर्न पत्रकार महासंघको माग

रातोपोस्ट संवाददाता
४४० पटक

झापा,२२ असार । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवम् पत्रकार पार्थ मण्डललाई लक्ष्मी मावि कचनकवलका प्रधानाध्यापक राजु बुढाथोकीले स्पष्टीकरणका नाममा धम्क्याउने,त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी कार्य गरेकाे भन्दै पत्रकार महासंघ झापाले बुढाथोकीलाई कानुनी कारबाही गर्न सम्बन्धित सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

झापाको कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले थाहा खबरमा प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन पत्राचार गरेको र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको भन्दै आज एक प्रेस विज्ञप्ति समेत जारी भएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पत्रकारको मर्यादामा आँच पु¥याउने कार्य आफैंमा आपत्तिजनक र प्रेस स्वतन्त्रता विरोधी काम रहेको भन्दै पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको महासंघले निन्दा र कडा भत्र्सना गरेकाे छ ।

महासंघका सचिव डिकेश लामाले प्रेस स्वतन्त्रता विरोधी उक्त कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षलाई सचेत गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्ने प्रधानाध्यापक राजु बुढाथोकीमाथि छानबिन गरी कानूनी कारवाही गर्न सम्बन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समितिसहित सरोकारवाला निकायलाई महासंघ आग्रह गर्दछ । साथै, पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघ स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।”

प्रतिकृया दिनुहोस्