News Portal

सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

रातोपोस्ट संवाददाता
३८१ पटक

काठमाडौं, २२ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विवाद समाधान कार्यदलको बैठक सुरु भएको हो। अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा सकिएपछि कार्यदल ब्युँतिएको थियो।

पार्टी भित्रको​ विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष ओली र नेता माधवकुमार नेपालले गठन गरेको कार्यदलले आज सहमतिको महत्वपूर्ण निर्णय गर्नसक्ने तयारी गरेको छ। अध्यक्ष ओली र नेता नेपालबीच संयुक्त वक्तव्यको तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए। कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

सोमबार साँझ बसेको कार्यदलको बैठकले पार्टीलाई एकताबद्ध बनाएर जाने सहमति बनाएको थियो। आजबाट औपचारिक रुपमा बैठक अघि बढ्ने नेता नेम्वाङले जानकारी दिए। ‘हामीले आन्तरिक तयारी धेरै गरेका छाैं, नेम्वाङले भने, ‘आजबाट कार्यदलको बैठक औपचारिक विषयमा प्रवेश गर्छ, हामी पार्टीलाई एकतावद्ध बनाउन अत्यन्तै गम्भीर भएर लागेका छाैं’

प्रतिकृया दिनुहोस्