News Portal

गाउँपालिकाको पहलमा अस्पतालले लिएकाे ८० हजार रुपैयाँ फिर्ता

रातोपोस्ट संवाददाता
३६२ पटक

झापा, २२ असार । केही दिन अघि कोभिड भएर मृत्यु भएकी झापाको बुद्धशान्ति ४ की रिन्जु तामाङको परिवारबाट दमकको आम्दा अस्पतालले उपचारवापत लिएको रकम उक्त अस्पतालले फिर्ता गर्न बाध्य भएको छ। आम्दा अस्पतालले फिर्ता गरेको उपचारको रकम सोमबार बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल र स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले संयुक्त रुपमा दिवंगत रिन्जुकी आमालाई हस्तान्तरण गरेका छन्।

रिन्जुलाई कोभिड भएपछि दमकको आम्दा अस्पताल भर्ना गर्नका लागि बुद्धशान्ति गाउँपालिकाले पठाएको थियो। त्यहाँ उपचारमा रहँदा उनको उपचारमा लागेको सबै औषधिलगायत सबै सामाग्री तथा अस्पताल बसाइको पैसा आम्दा अस्पतालले उनका परिवारबाट असुलेको थियो। उक्त अस्पतालले कोभिड भएर बिरामी परेकाको उपचार निशूल्क गर्न भन्दै प्रदेश १ सामाजिक विकास मन्त्रालयसंग लिखित सम्झौता गरेको छ। त्यसवापत उसले प्रदेश सरकारबाट पैसा पाउँछ। तर परिवारबाट पनि पैसा असुल गरेपछि रिन्जुका बुवा-आमा गाउँपालिकामा आएर गुनासो राखेका थिए।

गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले आम्दा अस्पतालको उक्त कदम आपत्तिजनक भएको भन्दै रकम फिर्ताको पहल गरिदिन झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना तथा स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौंलागाईंसंग आग्रह गरेका थिए । गाउँपालिका, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय झापाको पहलमा आम्दा अस्पतालले रिन्जुको उपचारमा लागेको रकम ८० हजार रुपैयाँ फिर्ता गरेको हो। आम्दाले रिन्जुको उपचारमा लागेको औषधिहरू सिटामोलसहित सबै र स्लाइनदेखि साना टेपसम्मका पैसा परिवारबाट लिएको थियो। गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले भने, ‘सरकारबाट पनि र परिवारबाट पनि पैसा लिने काम राम्रो भएन। अबदेखि यस्तो नहोस्।’

प्रतिकृया दिनुहोस्