News Portal

काेपा अमेरिका: अर्जेन्टिना फाइनल प्रवेश

रातोपोस्ट संवाददाता
४४४ पटक

बुधबार बिहान भएको सेमिफाइनल खेलमा काेलम्बियालाई टाइब्रेकरमा ३-२ गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ।

यससँगै उपाधि भिडन्तका लागि दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

अर्जेन्टिनाको जितमा गोलरक्षक एमिलानो मार्टिनेज नायक रहे । उनले कोलम्बियाका तीन प्रहारलाई विफल पारेका थिए ।

अर्जेन्टिनाले सातौं मिनेटमा लउटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । यसका लागि लियोनल मेसीले अवसर मिलाइदिएका थिए। एक गोलले पछाडि रहेको स्थितिमा कोलम्बियाले अर्जेन्टिनामाथि चर्को दबाब सिर्जना गरेको थियो ।

यसै क्रममा कोलम्बियाका लागि लुइस डियाजले ६१ औं मिनेटमा बराबरी गोल फर्काए । यो उनको उत्कृष्ट व्यक्तिगत गोल रह्यो । निर्धारित ९० मिनेटको खेलपछि प्रतिस्पर्धा सिधै पेनाल्टीमा गएको थियो ।

यसअघि डिफेन्डिङ च्याम्पियन तथा आयोजक ब्राजिलले पेरुलाई पहिलो सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियोे । ब्राजिलविरुद्धको फाइनल खेल आइतबार हुनेछ ।

प्रतिकृया दिनुहोस्