News Portal

काले मृत्यु प्रकरण, न्याय नपाएकाे भन्दै पीडित परिवार र आफन्त आन्दोलनमा उत्रिए

रातोपोस्ट संवाददाता
९७८ पटक

रामेछाप,१ साउन । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ का राजकुमार बुढाथोकी (काले) को मृ’त्यु प्रकरण रहस्यमय बन्दै गएको छ । घटनाको महिना दिन बितिसक्दा समेत प्रहरीले घटनाको वैज्ञानिक ढंगले अनुसन्धान नगर्नु , शव भेटिएको हप्ता दिनसम्म घटनास्थलकाे निरीक्षण तथा शंकास्पद ब्यक्तिहरूलाई पक्राउ नगर्नु र समाचार प्रकाशन भएपछि मात्रै शंकास्पद ब्यक्ति पक्राउ गर्नुले घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्त तथा स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन्। गाउँबाट २ घण्टाकाे बाटो धाएर उनिहरू न्याय माग्न सदरमुकाम आइपुगेका हुन्।

घटनाको ५ दिनपछि रातोपनेष्ट अनलाइनले काले मृत्युु प्रकरण बारे समाचार प्रकाशित गरेको थियोे । राताेपाेष्टले समाचार प्रकाशित गरेपछि मात्रै प्रहरीले शंकास्पद व्यक्ति पक्राउ गरेको थियो । यद्यपि घटनाको महिना दिन बितिसक्दा समेत प्रहरीले घटनाबारे कुनै कुरा हालसम्म सार्वजनिक गरेको छैन।

पिडित परिवार हाम्रो सम्पर्कमा आएर आफुहरूकाे बाेल्ने काेहि नभएको र स्थानीय मिडियाहरूले समेत साथ सहयोग नगरेको गुनासो गरेपछि रातोपाेष्टले उक्त समाचार प्रकाशन गरेको थियोे ।
घटनाको सत्य तथ्य छानबिनगरी दोषीलाई कडा कारवाहीकाे माग गर्दै राजकुमारका परिवार तथा स्थानिय वासिन्दाले आज सदरमुकाम मन्थलीमा प्रदर्शन गरेका हुन्,। ट्राफिक चाैकबाट शुरू भएको प्रदर्शनी जिल्ला प्रहरी कार्यालय , प्रशासन कार्यालय हुँदै देवकाेटा चाैकमा आएर काेणशभामा परिणत भएको थियोे ।

उक्त काेणशभालाई सम्बोधन गर्दै युवाहरूले घटनाको बैज्ञानिक ढंगले अनुसन्धान गर्न, हत्यारा सार्वजनिक गर्न प्रशासन सँग जाेडदार माग गरेका छन्, । घटनालाई कसैकाे दबाबमा ताेडमाेड नगर्न र यदि दोषी उम्किए सशक्त प्रदर्शनीमा उत्रने उल्लेख गरेका छन्,।

घटना भएको यतिका दिनसम्म पनि स्थानीय जनप्रतिनिधि , राजनितिक दल, र प्रशासन समेत मौन रहेको भन्दै उनिहरूले न्याय माग्दै शुक्रबार मन्थली देबकोटा चोकमा प्लेकार्ड सहित नाराजुलुस गरेका हुन् । गत असार १ गते ज्याला मजदुरी गर्न छिमेकीकोमा गएका राजकुमार भोलि पल्ट मृत अवस्थामा फेला परेका थिए। त्यस दिन मृतक राजकुमारसँगै केही व्यक्तिहरूले मदिरा सेवन समेत गरेको बताइएको छ ।

गाउँ नजिकै सेरावेसी स्थित एउटा गोठमा बसेर केही ब्यक्तिहरूले राति ८ बजेसम्म मदिरा सेवन गरेको स्थानियले बताएका छन् । बोल्न नसक्ने राजकुमार असार २ गते दिउँसो उक्त गोठ नजिकैको भिर मुनि मृत अवस्थामा फेला परेका थिए । उक्त शव भेटिएको भिर निकै ठुलो छ। त्यति ठुलो भिरबाट खसेका भनिएका राजकुमार घरतर्फ नआएर बाटोनै नपर्ने भिरतर्फ किन गए भन्ने प्रश्न परिवार र स्थानियले उठाएका छन् ।

त्यति अग्लो भिरबाट खसेर मरेको भनिएका मृतक राजकुमारले लगाएको कपडा जस्ताको तस्तै रहेको, भीरबाट लडेको भनिए पनि काहिँ कतै बुटाहरू नमाडिएको, शरीरमा काहिँ कतै नदरालिएको शव देख्नेहरू बताउँछन् । उक्त भिर हेर्दा भिरबाट खस्ने जो कसैको शरीर छिन्नभिन्न हुने देखिन्छ । तर राजकुमारको शव भने त्यस्तो अवस्थामा नहुनुले पनि घटना शंकास्पद देखिएको स्थानियले बताएका छन् ।

टाउकोमा काटिएको , हर खुस्किएको र ढाडमा निल डाम रहेको अवस्थामा उनको शव भेटिएको र उनको शवको अवस्था हेर्दा आत्महत्या नभएर हत्या भएको गाउँलेहरूले बताएका छन् । मृत अवस्थामा भेटिएका राजकुमारको पोस्टमार्टम समेत नगर्न स्थानीय जनप्रतिनिधि र समाजका अगुवाहरूले दबाब दिएको समेत पीडित परिवारको आरोप छ। यद्यपि घटनाको जानकारी लगत्तै घटना स्थलमा पुगेको प्रहरी टोलिले उनको शव पोस्टमार्टमका लागि लगेको थियोे ।

मृतक राजकुमारको पोस्टमार्टम रिपोर्टमा अग्लो ठाउँबाट खसेको भन्ने देखाएको र परिवारले जाहेरी दिएपछि शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्