News Portal

देउवा सरकारमा जसपाले माग्यो ८ मन्त्रालय

रातोपोस्ट संवाददाता
३६० पटक

काठमाडाैं, २ साउन । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन २५ मध्ये एक तिहाइ मन्त्रालय माग्ने भएको छ। बालकुमारीस्थित जसपा मुख्यालयमा शनिबार बसेको संसदीय दलको बैठकमा सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने विषयमा छलफल भएको केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।  उनले भने, “सरकार गठनमा हाम्रो पनि महत्त्वपूर्ण भूमिका छ, त्यसकारण तीन वटै पार्टी समान हैसियतमा सहभागी हुनुपर्छ भन्ने हाम्रो धारणा रह्यो।”

सरकारमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री सहित तीन र नेकपा (माओवादी केन्द्र)बाट दुई जना मन्त्री बनेका छन्। राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ। संविधान अनुसार, मन्त्रिमण्डल २५ सदस्यभन्दा बढीको बनाउन पाइँदैन। नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी भएको अवस्थामा भने आफूहरूले पाउनुपर्ने मन्त्रालयको संख्या घट्ने पूर्वमन्त्री समेत रहेका राईले बताए। सरकारले मधेसको माग सम्बोधन गर्न संविधान संशोधन, नागरिक विधेयक लगायतका मुद्दा पूरा गर्नुपर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

संसदीय दलको बैठक आइतबार १ बजे पुनः बस्ने सांसद प्रदीप यादवले जानकारी दिए। उनका अनुसार, आजको बैठकले संसद्‌मा सत्तापक्षको लाइनमा बस्ने निर्णय पनि गरेको छ। बैठकमा प्रतिनिधि सभाका १७ र राष्ट्रिय सभाका दुई सांसद सहभागी थिए। यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षमा लागेका अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाज मिकरानी पनि आफूहरूकै पक्षमा भएको उपेन्द्र यादव पक्षका नेताहरू बताउँछन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जसपाका १२ सांसदले हस्ताक्षर गरेका थिए।  जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष शुरूदेखि नै प्रतिनिधि सभा विघटनको विरोधमा थियो भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी थियो।

 

 

प्रतिकृया दिनुहोस्