News Portal

प्रचण्डको चेतावनी – आगोसँग नखेल्नू

रातोपोस्ट
४०२ पटक

काठमाडाैं, ४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले ‘माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न’ आग्रह गरे । विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि आइतबार संसद्मा भएको छलफलमा भाग लिँदै दाहालले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रूपान्तरण ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किन सक्छ ।

त्यो बुद्धितिर कोही पनि नजाऔं ।’ उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरे । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नुभएको हो भने ब्लन्डर गर्दै हुनुहुन्छ,’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’ माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज भएको र त्यो आन्दोलनलाई नेतृत्व गर्ने आफूहरू जिउँदै रहेकाले मिचेर अगाडि बढ्न सहज नभएको बताए । माओवादी आन्दोलनबाट आएका आफूहरूलाई अपमानित गर्न खोजेर यिनीहरू निमोठिन्छन् भन्ने नठान्न उनले सचेत गराए ।

उनले प्रतनिधिसभा बैठमा बोल्दै गर्दा निवर्तमान प्रधानमन्त्री ओलीको खोजी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राखेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले प्रतिनिधि सभा बैठकमा देखिएका थिएनन् । एमालेबाट रोस्टममा सांसद प्रदीप ज्ञवाली बोलेका थिए । ‘मैले यहाँ आएपछि हाम्रो प्रमुख सचेतकलाई तीनपटक सोधें, निवर्तमान प्रधानमन्त्री आउनुहुन्छ ? बोल्नुहुन्छ ? उहाँले आउनुहुन्छ भन्नुभयो,’ दाहालले भने, ‘तर बिरामी भएर हो कि के हो मलाई थाहा छैन उहाँ (केपी ओली) बोल्नुभएन । पुनस्र्थापित पहिलो बैठकमा यो सदन र देशले केपीजीकै मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो ।

निवर्तमान प्रधानमन्त्री ओलीजीले के भन्नुहोला भन्ने देशले सुन्न चाहेको थियो ।’ निवर्तमान प्रधानमन्त्री सदनमा अनुपस्थित भएपछि उनले यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक भनेर प्रश्न गरेका थिए । निवर्तमान प्रधानमन्त्री ओली संसद् भवनभित्रै रहे पनि बैठकमा भने अनुपस्थित थिए । मतदानको समयमा भने ओली बैठकमा उपस्थित भए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्