News Portal

गुरु पूर्णिमामा गुरुसहित खेलाडी सम्मानित

रातोपोस्ट संवाददाता
४३६ पटक

मेचीनगर, ९ साउन । गुरु पूर्णिमाको सन्दर्भ पारेर मेचीनगर–६ स्थित बर्मेली कराते डोजोले कराते विधाका गुरुसहित १५ जना खेलाडीलाई सम्मान गरेको छ । छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक तथा युवा समाजसेवी बालकृष्ण थापाको प्रमुख आतिथ्यतामा शनिवार आयोजित कार्यक्रममा करातेका गुरुसहित खेलाडीलाई सम्मान गरिएको हो ।

सो अवसरमा आयोजक डोजोले गुरुहरुलाई सम्मान गर्दै यसअघि भएको ग्रेडिङमा ब्राउन बेल्टबाट ब्ल्याक बेल्टमा उत्तीर्ण हुने १५ जना खेलाडीहरुलाई सम्मानसहित बेल्ट तथा प्रमाण पत्र वितरण गरेको थियो । त्यसक्रममा बर्मेली डोजोका ६ जना, इष्ट होराइजन डोजोका ४ जना, बाहुनडाँगी डोजोका ३ जना तथा सेकेण्ड डान गर्ने बाहुनडाँगी डोजोका सम्झना सारु मगर र बर्मेली डोजोका पाकुहाङ राई सम्मानित भएका थिए ।

खेलाडीहरुका अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा प्रमुख अतिथि थापालगायत अन्य अतिथिहरुले सम्मानित खेलाडीहरुलाई खादा र अविर पहिर्याएका थिए । सो अवसरमा विशेष अतिथि मेचीनगर ६ नम्बर वडा सदस्य देवीप्रसाद सुवेदी, राखेप सहायक प्रशिक्षक कृष्ण बस्नेत, राजु महर्जन, मेचीनगर सितोरियो कराते संघका अध्यक्ष अर्जुन लम्साल, संघका पूर्व अध्यक्ष विष्णु श्रेष्ठ, करातेका पुराना सिनियर खेलाडी तेजु लिम्बू र लायन्स क्लब अफ मेचीनगरका सेकेण्ड भिपि मोहन मैनालीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राखेप सहायक प्रशिक्षक बद्री विष्ट, करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी मानबहादुर धिमाल, करातेका पूर्व राष्ट्रिय खेलाडी खगेन्द्र कार्की, कुमार श्रेष्ठ, लायन्स क्लब अफ मेचीनगरका सेक्रेटरी नवराज प्रधान, युनिक मुभमेन्ट डान्स सेन्टरका नृत्य प्रशिक्षक अफरोज खान, युवा संघ नेपालका झापा जिल्ला सदस्य चेत नाथ पौडेल(चेतन), अखिल क्रान्तिकारीका मेचीनगर कमिटीका सहसंयाेजक भवेश दाहाललगायतको आतिथ्यता थियो ।

कार्यक्रममा बर्मेली डोजोका खेलाडी रमेश श्रेष्ठले काता डेमोस्ट्रेसन गरेका थिए । आयोजक डोजोका अध्यक्ष तथा प्रशिक्षक अभिषेक दवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत खेलाडी लक्की तामाङ र सञ्चालन डोजो सचिव अभिजित दवाडीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्