News Portal

मर्यादाक्रमकाे विवादले हेल्थ डेस्क भएन उद्घाटन

रातोपोस्ट संवाददाता
६९० पटक

झापा, १० साउन । झापाकाे मेचीनगर- ६ काँकरभिट्टा स्थित काँकरभिट्टा हेल्थ डेस्क उद्घाटन कार्यक्रम स्थगित भएको छ । हेल्थ डेस्क उद्घाटनमा आफूभन्दा तल्लो ओहदाका कर्मचारीलाई प्रमुख अतिथि र आफूलाई विशेष अतिथि बनाइएको विषयलाई लिएर मेयर विमल आचार्य र उपमेयर मीना उप्रेतीले कार्यक्रम बहिष्कार गरेका हुन् । हेल्थ डेस्क उद्घाटनका लागि स्वास्थ्य मन्त्रालय सचिव डा. रोशन पोख्रेल आउने तय भएको थियो । तर, अन्तिम समयमा उनी नआउने भएपछि इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा. अमृत पोख्रेलको हातबाट हेल्थ डेस्क उद्घाटन गराउने योजना निर्माण उपभोक्ता समितिको थियो ।

तर, प्रमुख अतिथि परिवर्तन भएकोबारे मेयर र उपमेयरलाई ढिलो मात्रै जानकारी गराइएको र आफूभन्दा तीन तह तल्लो ओहदाको कर्मचारीलाई प्रमुख अतिथि बनाइएको बारे मेयर र उपमेयरले असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरेका थिए । सरकारले निर्धारण गरेको मर्यादाक्रमअनुसार नगरपालिकाका मेयर १५ औं, उपमेयर १६ औं र प्रमुख अतिथि बनाइएका उपसचिव तहका कर्मचारी १८ नम्बरमा पर्छन् ।

‘अन्तिम समयमा प्रमुख अतिथि फेरिएको बारे प्रमुख तथा उपप्रमुखज्यूलाई ढिला जानकारी गराइएको निहुँमा उहाँहरूले कार्यक्रम बहिष्कार गर्नुभयो,’ निर्माण उपभोक्ता समितिका अध्यक्ष नीरबहादुर कार्कीले भने, ‘हेल्थ डेस्क बनायौं तर हस्तान्तरण गर्न पाएनौं ।’ प्रमुख अतिथिका रूपमा हेल्थ डेस्क उद्घाटन गर्न डा. पोख्रेल शनिबार बिहान जहाजबाट झापा आएका थिए । तर, विवादका कारण जनप्रतिनिधिले कार्यक्रम बहिष्कार गरेको थाहा पाएपछि उनी कार्यक्रममा सहभागी नबनी काठमाडौं फर्किएका थिए ।

मेयर आचार्यले आफ्नो नगरमा बनेको संरचनाको उद्घाटन र हस्तान्तरणमा स्वास्थ्य मन्त्रालयले कुनै समन्वय नगरेको भन्दै आपत्ति जनाएका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखाले कोरोना संक्रमण नियन्त्रणका लागि पूर्वी नाकामा दुईवटा हेल्थ डेस्क निर्माण गरेको हो । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको ५० लाख रुपैयाँमा बनेको हेल्थ डेस्कबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भारतबाट आउने यात्रीलाई सेवा दिने छन् । हेल्थ डेस्क निर्माणका लागि ६ महिनाअघि नै स्वास्थ्य मन्त्रालयले मेचीनगर नगरपालिकालाई बजेट पठाएको थियो ।

प्रतिकृया दिनुहोस्