News Portal

शिवसताक्षीमा हात्तीकाे आतंकले स्थानीय त्रसित

रातोपोस्ट संवाददाता
३७४ पटक

झापा, ११ साउन । झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले बितण्डा मच्चाउन थालेको छ। सोमबार बिहान हात्तीको बथानले वडा नम्बर ११ का ८ वटा घर भत्काएको छ। सँगै किसानको धान र मकै बाली समेत नष्ट गरेको छ। हात्तीले भत्काएका घरहरू रतुवामाई वृक्षारोपण आयोजनाको जंगल संग जोडिएका हुन् । जंगल क्षेत्रबाट गाउँ पसेको हात्तीको बथानले स्थानियबासीको घर भत्काएको शिवसताक्षी नगरपालिका वडा नम्बर- ११ का वडाअध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । एक सातादेखि हात्तीले स्थानीयवासीको घर भत्काएर हैरान गर्न थालेको स्थानीय दीपक चौहानले जानकारी दिएका छन् ।

हात्तीले वडा नम्बर- ११ का चन्द्र वहादुर थेवे, बल बहादुर राई, भिमकुमार राई,अनिल लिम्बू,रत्न राई,टेक बहादुर राई, नर प्रसाद लक्सम र रोशन थेवेले घर भत्काउनुका साथै भित्र रहेको अन्नबाली समेत तानेर खाइदिएको छ। अधिकांशको भण्डारण गरिएको खाद्यान्न घरको बार भत्काएर हात्तीले खाएको चौहानले बताए । बिहान २ बजेदेखि गाउँ पसेको हात्तीले वितण्डा मच्चाएको थियो । ज्यान जोगाउन कतिपय स्थानीय लत्ताकपडा खाद्यान्न र बालबालिका सहित भागेका थिए । स्थानीयवासीका अनुसार हात्तीले सबै पीडितको गरेर पाँच लाख बराबरको क्षति भएको बताएका छन् ।

‘उज्यालो हुने बेलामा १० वटाको समूहमा रहेको बथान जंगलबाट आएर घर भत्काउन थाल्यो,’ पीडित चन्द्रप्रसाद थेवेले भने, ‘हात्ती आएको थाहा पाएर आफ्नो र बालबच्चाको जिउ जोगाउन सक्यौं।’ उनको घरसँगै रहेका अन्य २ घर हात्तीले भत्काउन थालेपछि आफूहरु भागेको उनले बताए । हात्ती गाउँमा पसेपछि स्थानीयहरुले सुरक्षाका लागि प्रहरी समेतलाई खबर गरेका थिए । तर हात्तीले घर भत्काएर भण्डारण गरेको खाद्यन्य खाइ सकेर जंगल फर्किसकेपछि प्रहरी घटनास्थल पुगेको स्थानीयबासीले गुनासो गरेका छन् ।

बिहान शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल र वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले घटनाको स्थलगत निरीक्षण गरेका थिए । उनीहरुले हात्ती धपाउन प्रयोग हुने साइरन पीडितलाई उपलब्ध गराउने बताए । प्रहरीले सर्जमिन गरेपछि पीडितले क्षतिपूर्ति समेत पाउने वडा अध्यक्ष श्रेष्ठले बताएका छन् । जंगल क्षेत्र मानिसले अतिक्रमण गरेर उनीहरूको आहारा नामेट बनाएपछि जंगली जनावर आहारका लागि मानवबस्तीमा पसेको वातावरणविद् हरुले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्