News Portal

फुटबल खेल्दा भएको विवादको निहुँमा एकजनाको हत्या

रातोपोस्ट संवाददाता
६२५ पटक

मोरङ, ११ साउन । मोरङको राजघाटमा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा स्थानीय अभिषेक चौधरीको हत्या भएको हो । मोरङ प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताए ।

चौधरीको ढाडलगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद भएको थियो । आइतबार विवाद र हात हालाहाल भएको थियो । सोमबार भने चौधरी दिउँसो स्थानीय भुरन चौधरीको घरमा बसिरहेका थिए । चौधरीलाई खोज्दै ६–७ जना युवाहरुको समूह आएको थियो ।

चौधरीको घरमा भेट्नेबित्तिकै समूहका युवाहरूले अभिषेकमाथि छुरा हानेको प्रहरीले जनाएको छ । छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरेको हो । घटनामा संलग्न रहेका अन्य भने फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस्