News Portal

माओवादी केन्द्रद्वारा झापा विद्वोहका योद्वा अधिकारीलाई नयाँ घर हस्तान्तरण

रातोपोस्ट संवाददाता
४९५ पटक

झापा, १३ साउन । जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाई गर्ने मध्येका एक सानो दुर्गा अधिकारीले बल्ल नयाँ घर पाएका छन् । केपी ओलीसँगै आन्दोलन गरेर १७ वर्ष जेल जीवन बिताएका अधिकारीको घर माओवादी केन्द्रको सहयोगमा निर्माण सम्पन्न भएको हो । धुलाबारीको पुल छेउमा सडक पेटी नजिकै रहेको जग्गामा अधिकारीको घर निर्माण सम्पन्न गरी बुधबार चावी हस्तान्तरण गरिएको छ ।

नयाँ घर बनाइदिएपछि विगत लामो समयदेखि डेरा गरी बस्दै आएका अधिकारी दम्पती वृद्धाअवस्थामै भए पनि आफ्नै नयाँ घरमा बस्न पाएका छन् ।परिवर्तनका खातिर १७ वर्ष जेल जीवन बिताएका ७० वर्षीय अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् ।आन्दोलनका क्रममा अधिकारी वर्तमान एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २०३० सालमा पक्राउ परेका थिए । झापा, इलाम, वीरगञ्ज र काठमाडौँका विभिन्न जेलमा बसेका अधिकारी ओलीभन्दा ३ वर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त भएका थिए ।

अधिकारीसँगै जेल जीवन बिताएका ओलीसहित अन्य थुप्रै नेताहरू पछिल्लो समय देशको उच्च पदमा पुगिसकेका छन् । उनीहरूले ऐसआरम, सुख–सुविधा र विलासी जीवन व्यतीत गरिरहँदा यता सानो दुर्गा अधिकारी भने बुढेसकालमा पनि दुःख र अभावका साथ कष्टकर जीवन बिताउन विवश छन् । झापा क्षेत्र नं. १ का संघीय सांसद राम कार्की (पार्थ) ले आफ्नो क्षेत्र विकास कोष मार्फत ‘आवाजविहीनहरुका लागि आवास’ कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट अधिकारीको घर निर्माण सम्पन्न भएको हो । सांसद कार्की माओवादी केन्द्रका सांसद हुन् ।

अधिकारीको घर निर्माण सम्पन्न गर्नका लागि सांसद् कार्कीमार्फत ३ लाख १६ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीयबासी तथा श्रमदानबाट व्यवस्थापन गरी कुल ४ लाख रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले बताए । तीन कोठाको उक्त घरमा बरण्डासहित शौचालय छ ।

घर निर्माण सम्पन्न भएसँगै जिउदो योद्धा सानो दुर्गा अधिकारीले विगतमा नेताहरुले आश्वासन मात्रै दिएर जाने गरेको बताए । उनले राम कार्की तथा माओवादीका नेता तथा कार्यकर्तालाई घर बनाइदिएकोमा धन्यवाद दिए । निर्माण समितिका संयोजक होमप्रकाश आचार्यको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका क्षेत्रीय इञ्चार्ज श्यामविर लिम्बू, मेचीनगर संयोजक पुष्प गुरागाईं, घरधनी सानो दुर्गा अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । माओवादी केन्द्रका मेचीनगर वडा नं. १० कमिटी अध्यक्ष कृष्ण कौशलले स्वागत तथा सचिव शिवशंकर साहको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेताहरु प्रकाश भण्डारी, शिवु बुढाथोकी, राजन चिमरियालगायतको आतिथ्यता रहेको थियो ।

No description available.

प्रतिकृया दिनुहोस्