News Portal

जातीय विभेद अन्त्यका लागि सामूहिक रक्षाबन्धन

रातोपोस्ट संवाददाता
६८३ पटक

तनहुँ, ६ भदाै । ब्राह्मण समाज नेपाल तनहुँले जनै पूर्णिमाको अवसरमा आइतबार दमौलीमा सबै जातजातिलाई सामूहिक रक्षाबन्धन गरेको छ। जातीय सद्भाव तथा सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सामुहिक रक्षाबन्धन गरिएको छ। कुनै पनि धर्म र शास्त्रमा जातीय विभेदका विषयमा उल्लेख नभएकाले संस्कार र कामको वर्गीकरणअनुसार हुँदै गएको विभेदलाई न्यूनीकरणका लागि सामूहिक रक्षाबन्धन गरिएको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार शास्त्रीय विधिपूर्वक अभिमन्त्रित रक्षासूत्र समाजका सबै वर्ग एवं जातजातिका व्यक्तिहरुलाई हातमा रक्षाबन्धन लगाइएको छ। ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्मालाई रक्षाबन्धन बाँधेर कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसर सांसद विश्वकर्माले हिन्दु धर्मग्रन्थ र वेदले जाति, वर्ग, पुरुष र महिला कुनै पनि फरक नभए पनि मानिसको संस्कारले गलत व्याख्या गरेर भेदभाव निम्त्याएकोले यस्ता सामूहिक कार्यले विभेद अन्त्य गर्न टेवा पुग्ने बताए।

मानिस आफैले बनाएको नीतिले तलमाथि उचनिचको भावनाले अडिएको छ भन्दै उनले जो समुदायले विभेद गरेको थियो त्यस्ता समुदायका व्यक्तिको मानसिकता परिवर्तन गरी वर्षौदेखिको मागलाई कार्यान्वयनमा ल्याउने जमर्को ब्राह्मण समाजले गरेको बताए। लामो क्रान्ति, आन्दोलन गरेर सबै वर्ग, जाति र समुदाय समान हुनुपर्छ भनेर आवाज उठाउँदै आएका थियौं, ब्राह्मण समाजले सोही अनुसार संविधानमा व्यवस्था गरिएको छ र संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने कार्यको थालनी गरेको छ, विभेद न्यूनीकरण लागि यस्तो कार्य अनुकरणीय छ,’ सांसद विश्वकर्माले भने।

सामुहिक रक्षाबन्धन कार्यक्रमले सबै समान हो भन्ने सन्देश दिन खोजेको अनुभूति भएको उनले बताए। बिहान ९ देखि साढे १२ बजेसम्म २५० जना भन्दा बढीलाई रक्षाबन्धन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । रक्षाबन्धन गर्न मन लागेर पनि वञ्चित रहने सबै जातजातिका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, एनप्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विक, अमृत नेपाली लगायत विभिन्न जातजातिका स्थानीयहरुलाई रक्षाबन्धन लगाइएको थियो । कोरोना भाइरसको विषम परिस्थितिमा रक्षाबन्धन कार्य सहज रुपमा होस् भन्नका लागि स्वास्थ्यका मापदण्ड पालना गरी कार्यक्रम गरिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्