News Portal

काबुल विस्फोटमा १३ अमेरिकीसहित ६० को निधन, १ सय ४० घाइते

रातोपोस्ट
५०९ पटक

काठमाडौँ, ११ भदाै । हिजाे साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित ६० भन्दा बढी मानिसहरूको निधन भएको छ। घटनामा १ सय ४० भन्दा बढी मानिसहरू घाइते भएका छन् । विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी दुई वटा आत्मघाती बम विस्फोट गराइएको थियो ।

विस्फोटको जिम्मा मुस्लिम आतङ्कवादी समूह इस्लामिक स्टेट खुरासानले लिएको छ। यो घटना अमेरिकाका लागि सन् २०११ पछि यत्ताकै खतरनाक हमला हो ।आफ्ना १३ सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त विस्फोटले आफू विक्षिप्तसँगै आक्रोशित भएको बताउनुभएको छ । विस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्नुहुँदै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताउनुभयो । जसले यो विस्फोट गरे र अमेरिकालाई हानी पुर्‍याउन चाहने जोसुकैले पनि थाहा पाइराख्नू हामी माफ दिनेवाला छैनौँ न त बिर्सने छौँ,’ बाइडेनले भन्नुभयो ,‘हामी तिमीहरूलाई फेला पार्नेछौँ र यसको मूल्य चुकाउन लगाउने छौँ।’

यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत रहन र त्यहाँ नजान आग्रह गरेका थिए।अगस्ट १५ मा विद्रोही समूह तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी र नाटो सैनिकले विदेशी र अफगान नागरिकको उद्धारका लागि काबुल विमानस्थल सञ्चालन गरिरहेका छन्।

तालिबान काबुल पसेपछि बिहीबार पहिलो पटक काबुलमा यति ठूलो आक्रमण भएको हो।संसारभरका देशहरू यत्तिखेर अफगानिस्तानबाट आफ्ना नागरिकहरूलाई सुरक्षितरुपमा फिर्ता गर्ने मिसनमा कार्यरत छन् । यो घटनाले संसारभरीका देशमा हलचल मचाइदिएको छ । कयौदेशका नेताहरूले घटनाको कडा शब्दमा भर्त्सना गरेका छन् ।

प्रतिकृया दिनुहोस्