News Portal

काँग्रेसकाे मेचीनगर सचिवमा घिमिरेको उम्मेद्वारी घोषणा

रातोपोस्ट संवाददाता
९३५ पटक

झापा, २० भदाै । नेपाली काँग्रेसका युवा नेता मनोज घिमिरेले नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनमा नगर सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आइतबार झापाकाे धुलावारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको अवसरमा घिमिरेले आँफू नगर सचिवको आकांक्षी रहेको बताएका हुन् । घिमिरेले आँफू दरिलो आत्मविश्वासका साथ नगर समिति सचिव पदमा उम्मेद्वारी दिने तयारीमा रहेको जानकारी गराए ।

२४ वर्ष अघिबाट विद्यार्थी राजनीति सुरु गरेका घिमिरेले आँफूलाई पार्टी नेतृत्व तहले विश्वासका साथ जिम्मेवारी प्रदान गर्ने दाबीसमेत गरे । घिमिरेले यस अघि पार्टीमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला कमिटि सदस्य, नेपाल तरुणदल मेचीनगर समिति सचिवजस्ता जिम्मेवारी पुरा गरि सकेका छन् ।तपाईं कुन गुटअन्तर्गत उम्मेद्वारी दिँदै हुनुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा घिमिरेले आँफू कुनै गुटभन्दा पनि पार्टीको लोकतान्त्रिक पद्धति बमोजिम जिम्मेवारी माग गर्ने बताए ।

काँग्रसको हाल कायम रहेको विधान बमोजिम ७५ सदस्यीय नगर समितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा एक कोषाध्यक्षसहितको पदाधिकारी रहने प्रावधान रहेको छ । उनले आँफू सचिव पदमा न्यायोचित काम गरेर देखाउने दाबीसमेत गरे । वाणिज्य शास्त्रमा स्नातक गरेका ३८ बर्षीय घिमिरे मेचीनगर वडा नम्बर १० का स्थायी वासिन्दा हुन् ।

महाधिवेशनको कार्यतालिका अनुसार काँग्रेसको नगर अधिवेशन भदौ २७ गते सम्पन्न हुँदैछ । पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेस वडा नम्बर १० का नवनिर्वाचित सभापति चन्द्र तिवारी, पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य मोहन काजीलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । पार्टीको आसन्न महाअधिवेशनमा नगर, क्षेत्र तथा जिल्ला कमिटिका विभिन्न पदका आकांक्षी उम्मेद्वार बढ्दै गएको देखिएको छ ।

प्रतिकृया दिनुहोस्