News Portal

राप्रपा मेचीनगर समितिले पायो पूर्णता, अध्यक्षमा बजगाईं चयन

रातोपोस्ट संवाददाता
७२४ पटक

झापा, २५ भदाै । राप्रपा मेचीनगर समितिले पूर्णता पाएको छ । गत चैतमा सम्पन्न नगर अधिवेशनबाट चुनिएको नयाँ समितिले बाँकी रहेका पदाधिकारीहरुको मनोनयन गर्दै नगर समितिलाई पूर्णता दिएको हो । शुक्रबार झापाकाे मेचीनगर–८, जोरसिमल स्थित पार्टी क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो ।

गत चैत ६ गते सम्पन्न पार्टीको नगर अधिवेशनले सबिना बजगाईंको अध्यक्षतामा १६ सदस्यीय नगर समिति चयन गरेको थियो । साउन २९ र ३० मा सम्पन्न पार्टीको भेलाले नगर समितिमा थप २६ जना पदाधिकारीहरु मनोनय गर्दै ४३ सदस्यीय नगर समिति गठन गरेकोे छ । बजाईं अध्यक्ष रहेको समितिको उपाध्यक्षद्वयमा घनश्याम लामिछाने र होम विष्ट , सचिवमा विशालकृष्ण वास्तोला, सहसचिवमा राम भारती तथा कोषाध्यक्षमा डम्बरकुमारी राउत रहेका छन् । विधान तह ३ उपाध्यक्ष, २ सचिव रहने नगर समितिमा थप एक/ एक जना उपाध्यक्ष र सचिव पछि मनोनित गरिने बताइएको छ ।

पार्टी कार्यालयमा आयोजित नगर भेला प्रमुुख अतिथि पार्टीकी केन्द्रीय सदस्य माया गुरुङ, विशेष अतिथिहरु पार्टीका प्रदेश सदस्य कल्याण खड्का, जिल्ला सदस्यहरु सुशिल आचार्य, सुनिता शर्मा, राजन प्रसाईं, शारदा पराजुली, क्षेत्रीय अध्यक्ष अशोक सुब्बा, क्षेत्र ‘क’ अध्यक्ष राजकुमार राई, क्षेत्र ‘ख’ अध्यक्ष दिपेश राई (गोरे भाई) लगायतको सहभागितामा सम्पन्न भएको पार्टीका नगर समिति सचिव वास्तोलले पत्रकार सम्मेलनमा जानकारी गराए ।

सो अवसरमा पार्टी अध्यक्ष बजगाईंले राप्रपालाई सबैको भरोसा योग्य बनाउने लक्ष्यका साथ संगठन विस्तारमा लागेको जानकारी गराइन् । उनले शीघ्र नगरमा पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, महिला तथा युवा कमिटि निर्माण गर्ने योजना तय भएको बताइन् । बजगाईंले आगामी निर्वाचनलाई लक्षीत गरी सबै वडामा समिति गठन गरिएको बताउँदै जनप्रतिनिधि छनोटका लागि वडागत उम्मेद्वारी तय गर्ने गरिको आन्तरिक गृहकार्यसमेत सुरु गरि सकिएको जानकारी दिइन् । नगरमा पछिल्लो समय मात्र हजार बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेको भन्दै उनले मेचीनगरमा उदाउँदो शक्तिको रुपमा राप्रपाले स्थान बनाउँदै लैजाने विश्वाससमेत ब्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस्