News Portal

राप्रपाद्वारा एमसीसीको विरोध काँकरभिट्टामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

रातोपोस्ट संवाददाता
६०८ पटक

झापा, २८ भदाै । झापाको मेचीनगरमा एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे पुत्ला दहन गरेकाे छ । प्रदर्शनको क्रममा कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । प्रदर्शनमा एमसीसी चाँहिदैन्–देश बेच्न पाईँदैन्, राष्ट्रघाती सम्झौता खारेज गर, लेखिएका प्लेकार्डसहित विरोध र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।

र्याली पछि काँकरभिट्टास्थित एशियन हाईवेमा आयोजित विरोध सभामा पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । वक्ताहरुले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास हुन लाग्दा समेत ठुला दलका नेता कार्यकर्ताहरुले विरोध गर्न नसकेको आरोप लगाएका थिए ।

विरोध सभालाई, राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाईं कट्टेल, बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रवादी समाज नेपाल मेचीनगर अध्यक्ष गिरीराज मणी पौडेललगायतले सम्बोधन गरेका थिए । नेताहरुले सम्बोधन गरि रहेकै बखत युवाकार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए । सुरक्षाकर्मीको आँखा छलेर उनीहरुले पुत्ला सल्काएर सडकमा प्रदर्शन गरेका थिए । पुत्ला दहन गर्न सुरु हुनसाथ सुरक्षाकर्मीहरुले पुत्ला नियन्त्रणा लिएर आगो निभाउने प्रयास गरेका थिए । सो क्रममा प्रहरी तथा कार्यकर्ताबीचमा पुत्ला खोसाखोसको भएकाे थियो ।

विरोध सभालाई राप्रपा मेचीनगर समिति, राष्ट्रवादी समाज नेपाल झापा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मेचीनगर तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरले संयुक्तरुपमा आयोजना गरेका थिए । सभामा पार्टीका जिल्ला अध्यक्ष केशव ओझा, मजदुर संगठन केन्द्रीय उपाध्यक्ष वसन्त रिमाल, जिल्ला सदस्य सुनिता शर्मा, पार्टीका बुद्धशान्तिका अध्यक्ष नारायण न्यौपाने, प्रदेश ख अध्यक्ष दिपेश राई, विद्यार्थी संगठनका मेचीनगरका अध्यक्ष राेशन तिम्सीना, मेचीनगर- ११ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लक्ष्मण कुमार लिम्बू, राष्ट्रवादी युवा समाजका अध्यक्ष टेकनाथ खनाल, रञ्जन देवकाेटा, लिप्सन बास्ताेला लगायतकाे सहभागीता रहेकाे थियाे । विरोध सभाको सञ्चालन पार्टीका नगर सचिव विशाल कृष्ण वास्तोलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्