News Portal

प्रदेश १ को अधिवेशन असोज २२ गते आह्वान

रातोपोस्ट संवाददाता
४४९ पटक

विराटनगर, ३० भदाै । अल्पमतमा परेको प्रदेश १ सरकारले विश्वासको मतको प्रक्रिया शुरु गर्न असोज २२ गते प्रदेश सभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले असोज २२ गते शुक्रबारका लागि ९औं अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री बल बहादुर साम्सोहाङले जानकारी दिए ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् । नेकपा एमालेका ५१ सांसद मध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा परेका आचार्यको पक्षमा ४१ सांसद छन् ।काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जाना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सो अधिवेशनमा प्रदेश सरकारले विश्वासको मत लिने प्रक्रिया थाल्ने मन्त्री साम्सोहाङले बताए । उनले नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेपछि संवैधानिक रुपमा ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभाको अधिवेशन आव्हान गर्ने निर्णय गरेको बताए ।यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग र प्रदेश योजना आयोगको प्रतिवेदन पास गरेको मन्त्री साम्सोहाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्