News Portal

काँकारभिट्टामा वडा स्तरीय फुटबल प्रतियोगिता शुरू हुँदै

रातोपोस्ट संवाददाता
७४३ पटक

झापा, ३० भदाै । झापाकाे मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगरकाे आयोजनामा हुने फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी हुने आयोजकले बताएको छ ।

बुधबार काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । कोभिड-१९ को प्रभावपछि संभवत जिल्लामै पहिलो पटक मेचीनगरमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता अवधि भर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरिने आयोजकले दावी गरेको छ ।

सो क्रममा खेलाडीहरुको स्वास्थ्य अवस्थाको चेकजाँच, पिसीआर परीक्षण गराएको रिपोर्ट, मास्क, सेनिटाइजर तथा खेल मैदानमा दर्शक तथा सहभागीहरुमा भौतिक दुरी कायम गराइने आयोजक कमिटिले बताएको छ । कोरोनाको प्रभावका कारण सुस्ताएको खेल क्षेत्रलाई चलायमान बनाउँने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको र यसमा साथ दिन सम्बन्धित सबैमा आयोजकले आग्रहसमेत गरेको छ ।

मेचीनगर -६, काँकरभिट्टास्थित काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रथम पुरस्कारको प्रायोजन समाजसेवी बालकृष्ण थापाले गरेका छन् । दोस्रो पुरस्कार राशि भने नेपाल खेलकुद महासंघले प्रायोजन गरेको जनाइएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सार्वेत्कृष्ट खेलाडीलाई ट्रफि तथा मेडल प्रदान गरिने आयोजकका अध्यक्ष मानबहादुर तामाङले बताए । दोस्रो संस्करणको रुपमा शुक्रबारबाट सुरु हुने प्रतियोगिता असोज ८ गते शुक्रबार सम्पन्न हुनेछ । पत्रकार सम्मेलनमा आयोजक राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटि अध्यक्ष तामाङ, बालकृष्ण थापा, नगर इन्चार्ज सञ्जय मेचे, क्षेत्रीय इन्चार्ज नारायण खनाल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रवीन ओझा, नेपाल खेलकुद महासंघका प्रदेश सदस्य बालकृष्ण थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्