News Portal

डडेलधुराको वडा अधिवेशन पुन गर्न माग

रातोपोस्ट संवाददाता
७२४ पटक

काठमाडौं, ३१ भदाै । नेपाली कांग्रेसको संस्थापन इतर समूहले डडेलधुरा जिल्लाको वडा अधिवेशन पुनः गराउन माग गर्दै निर्वाचन समितिको ध्यानाकर्षण गराउँदै छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू डडेलधुरामा पुनः वडा अधिवेशन माग गर्दै अहिले २ बजे निर्वाचन समितिको कार्यालय जाँदै छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाललगायत नेताहरू पुनः अधिवेशनको माग गर्दै जान लागेका हुन् । यसअघि पत्रकार सम्मेलन गर्दै पौडेल समूहले डडेलधुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गर्ने बताएको थियो । गत २५ भदौमा डडेलधुरामा गरिएको वडा अधिवेशन एकतर्फी रूपमा धाँधली र बलमिचाइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनु पर्ने बताएको हो ।

पौडेलले डडेलधुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गर्दै आइरहेको छ। डडेलधुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा केन्द्रबाट कटौती गरेर नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै असन्तुष्ट रहँदै आइरहेको छ । जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद त्यहाँ केन्द्रको निर्देशनमा वडा अधिवेशन गरिएको थियो । सो अधिवेशनमा सभापति शेरबहादुर देउवाबाहेकको समूहले भने सहभागिता जनाएको छैन ।

कांग्रेसले गत १८ भदौमा देशभरका ६ हजार ७ सय ४३ वडामा एक साथ वडा अधिवेशन गर्नका लागि मिति तोके पनि अहिलेसम्म ५६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । डडेलधुराको अधिवेशन विवादित छ भने त्यसबाहेकका जिल्लामा वडा अधिवेशन शुरु नै भएको छैन । पछिल्लो पटक कांग्रेसले गत शुक्रवार केन्द्र र प्रदेश बाहेकका अधिवेशनको मितिलाई यथावत् राख्दै अन्य तहको अधिवेशनका मिति हेरफेर गरेको थियो । जस अनुसार कांग्रेसले २० जिल्लाको अधिवेशन ५ असोजलाई तोकेको छ भने पालिका तहको अधिवेशन २७ भदौबाट सारेर ९ असोजमा पुर्‍याइएको छ ।

प्रतिकृया दिनुहोस्