News Portal

आजको एमाले विकसित एमाले: ईश्वर पोखरेल

रातोपोस्ट संवाददाता
३८२ पटक

काठमाडौं, ३१ भदाै । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आजको एमाले विकसित एमाले भएको बताएका छन्। नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आजको एमाले माओवादीसँग एकतापछि बनेको विकसित एमाले भएको दाबी गरे।

आजको एमाले २०७५ जेठ २ अघिको एमाले मात्र होइन, एकता प्रक्रियासहितको विकसित एमाले हो,’ पोखरेलले भेलालाई सम्बोधन गर्दै भने। उनले एमालेलाई माओवादीसँगको एकतापछिको बलियो एमालेका रूपमा लिनु पर्नेसमेत दाबी गरे । पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने र भइरहेको भन्दै त्यसमा ढुक्क रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

देशको पछिल्लो राजनीतिक अवस्थाका विषयमासमेत धारणा राख्दै पोखरेलले सत्ता गठबन्धनले मुलुकको विकास र समृद्धिलाई अवरोध गर्न खोजेको बताए । एमालेले संविधान र विधिलाई मान्ने भएकाले २०७९ वैशाख १० भित्र दसौँ राष्ट्रिय महाधिवेशन गर्नुपर्नेसमेत बताए । एमालेले असोज १५ देखि १७ मा विधान महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्