News Portal

अर्जुन सुब्बाद्वारा काँग्रेसको क्षेत्रीय सचिवमा उमेद्वारी घोषणा

रातोपोस्ट संवाददाता
४३० पटक

झापा, ३१ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सचिव पदमा काँग्रेस युवा नेता अर्जुन सुब्बाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । बिहीबार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा सुब्बाले आसन्न क्षेत्रीय अधिवेशनका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । मेचीनगर ६ काँकरभिट्टाका सुब्बा यस अघि पार्टीको विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।

उनले यसअघि नेपाली काँग्रेस मेचीनगर कमिटिको निर्वाचित सचिवको रुपमा जिम्मेवारीसमेत पुरा गरि सकेका छन् । सुब्बा तात्कालिन समयमा काँग्रेस विभाजित हुँदा मेचीनगर वडा नम्बर ६ को सभापतिसमेत चुनिएका थिए । सुब्बा दोस्रो जनआन्दोलनपछि विद्यार्थी राजनीतिबाट काँग्रेसमा आवद्ध भएका थिए । सोही क्रममा उनी कन्काई बहुमुखी क्याम्पस सुरुंगाका स्ववियू उपसभापतिहुँदै पार्टी राजनीतिको मुलधारमा सरिक भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

मेची साइकल राइडर्स संघका वर्तमान अध्यक्ष रहेका सुब्बा होटल ब्यवसायी संघ मेचीनगरका पूर्व अध्यक्ष एवम् भेट्रान फुटबल क्लबका संस्थापक अध्यक्ष हुन् । उनले दर्जनबढी समाजिक संघसंस्थामा आवद्ध रहेर काम गरि सकेका छन् । सुब्बाले यसअघि आँफूले पार्टीको जिम्मेवार तहमा रहेर कुशतापूर्वक जिम्मेवारी पुरा गरि सकेकाले यो पटक क्षेत्रीय सचिवमा आफ्नो उम्मेद्वारी दिएको बताउँदै उनले पार्टी नेतृत्वदेखि नेता, कार्यकर्ताको सहयोग आँफूमा प्राप्त हुने दावी गरे । काँग्रेसको क्षेत्रीय अधिवेशन असोज ९ गते हुँदैछ ।

प्रतिकृया दिनुहोस्