News Portal

दशैँका लागि असाेज दाेस्राे हप्तादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

रातोपोस्ट संवाददाता
२९९ पटक

काठमाडौ, १ असाेज । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जानेहरूका लागि आउँदो असाेज १० वा ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

अग्रिम टिकट बुकिङ खुलाउनेबारेमा व्यवसायीहरूसँग छलफल गरिएको र थप छलफल गरी आउँदो १०/११ गतेदेखि बुकिङ खुलाउने यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताए ।

छलफलमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ १० गतेदेखि टिकट बुकिङ खुलाउन सहमत भएको छ । आफूहरूसँग झन्डै सय वटा कम्पनी आबद्ध रहेका र अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सहमति जनाएको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कोरोना सङ्क्रमणको जोखिम नघटेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या रहेको बताए ।

देशव्यापी निषेधाज्ञा नभए पनि जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेमा समस्या हुने भएकाले अवस्थाअनुसार बस सञ्चालन गर्नुपर्ने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्