News Portal

शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या, आरोपी छिमेकी पक्राउ

रातोपोस्ट संवाददाता
३२२ पटक

झापा, २ असाेज । जिल्लाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका- ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार शिवसताक्षी- ३ निवासी कुमार लिम्बुको ३७ वर्षीया श्रीमती सुषमा लिम्बुलाई मिस्त्रीले धारिलो हतियार फलामको बिँड भएको बाम्फोकले टाउको र अनुहारमा प्रहार गरेका थिए । घटना भदौ २८ गते सोमबार बिहान ११ बजेको हो । छिमेकी मिस्त्रीको बाम्फोक प्रहारबाट घाइते भएकी सुषमालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको थियो । उनको उपचारको क्रममा शुक्रबार साँझ ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए ।

यता पक्राउ परेका मिस्त्रीलाई झापा जिल्ला अदालत भद्रपुरबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । लिम्बु र मिस्त्रीका परिवार अरू जमिन अधियामा लिई खेतीपाती गरी परिवारको गुजारा चलाउँदै आएका थिए । घटनाअघि उनीहरू बिचको पारिवारिक दुस्मनी पनि केही नभएको स्थानीयहरुले बताएका छन् । मृतक सुषमाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका छन् ।

प्रतिकृया दिनुहोस्