News Portal

मेचीनगर युवा कप–२०७८’ को उपाधिका लागि भानु  फुटबल क्लब तथा ह्याप्पी क्लब  भिड्ने

रातोपोस्ट संवाददाता
४८५ पटक

झापा, ७ असाेज । झापाको मेचीनगरमा जारी ‘मेचीनगर युवा कप–२०७८’ को फाइनलमा उपाधिका लागि भानु टोल फुटबल क्लब तथा ह्याप्पी क्लब भिड्ने भएका छन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ह्याप्पी क्लबले वडा नम्बर १५ लाई २–१ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा भानु टोल फुटबल क्लबसँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफमा १–१ गोलको बराबरी अवस्थामा दोस्रो हाफमा ह्याप्पी क्लबका खेलाडीको प्रहारलाई वडा नम्बर १५ का गोल रक्षकले पञ्ज गर्दै पोष्ट बाहिर धकेलेपनि गोल लाइन टेक्नोलोजीको नियम प्रयोग गर्दै लाइन्स मेनले गोल दिएका थिए ।

पहिलो हाफको सातौं मिनेटमा वडा नम्बर १५ का भवेश लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । लगत्तै ह्याप्पी क्लबका अभिषेक चापागाईंले १२ औं मिनेटमा जवाफि गोल गर्दै स्कोर बराबरी बनाएका थिए । रेफ्रीले दोस्रो हाफमा ह्याप्पी क्लबलाई गोल दिएपछि वडा नम्बर १५ खेलमा सहभागी हुन मानेन । अम्पायरको निर्णयसँगै ह्याप्पी क्लब फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर १५ का खेलाडीले भने खेल बहिस्कार गर्दै मैदान छाडेका थिए ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भानु क्लब फुटबल क्लब वडा नम्बर ६ ले वडा नम्बर ११ लाई ३–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल अराह्न्न ३ बजे हुने आयोजकले जनाएको छ । फाइनल खेलअघि आयोजक तथा मेचीनगरका सञ्चारकर्मी बीच मैत्रीपूर्ण खेल हुनेसमेत आयोजकले बताएको छ । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

 

 

प्रतिकृया दिनुहोस्