News Portal

साउन र भदौमा राजस्व संकलन उत्साहजनक

रातोपोस्ट संवाददाता
३२८ पटक

काठमाडाैँ, १० असाेज ।आर्थिक विधेयक प्रमाणीकरण हुन बाँकी रहेका कारण अझै बजेट रिक्तताको अवस्था रहे पनि साउन र भदौमा राजस्व संकलन अवस्था भने उत्साहजनक भएको छ । आर्थिक अध्यादेश निष्कृय भएपछि सामयिक कर असुली ऐन २०१२, अनुसार सरकारले नौ दिनमा १६ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बराबरको राजस्व असुली गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

भदौ ३० गतेसम्ममा एक खर्ब ६८ अर्ब ५७ करोड रुपैयाँ राजस्व उठाएको सरकारले गत शुक्रबारसम्ममा एक खर्ब ८५ अर्ब ४६ करोड रुपैयाँ संकलन गरेको हो । तर सरकारले कर उठाउने आर्थिक विधेयक २०७८ सहित राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई भने शुक्रबारमात्र राष्ट्रिय सभामा पेस गरेको छ । आगामी सोमबार उक्त विधेयकमा दफाबार छलफल हुने भएकाले पारित हुने अपेक्षा गरिएको छ । सरकारले भने हालसम्म लक्ष्यभन्दा पनि बढीको राजस्व संकलन गरिरहेको आन्तरिक राजस्व विभागका सूचना अधिकारी अर्जुन ढकाल बताउँछन् । “हामीले साउन र भदौमा लक्ष्यभन्दा पनि बढीको कर संकलन गरेका छौं,” उनले भने ।

सरकारले राजस्व संकलन गर्न कुनै कानुनी सुधार नगरे पनि सार्वजनिक ऋणको अंश घटाई प्रतिस्थापन विधेयकमा राजस्व संकलनको लक्ष्य बढाएको थियो । अहिलेको राजस्व संकलनको ट्रेन्ड हेर्दा अवस्था सामान्य नै रहेका राजस्वको लक्ष्य पूरा गर्न कुनै कठिनाइ नहुने ढकाल बताउँछन् । “महामारीबाट निस्किँदै गर्दा पनि लक्ष्यभन्दा करिब १० प्रतिशतको हाराहारीमा बढी राजस्व संकलन भएको छ,” उनले भने, “कोरोनाको तेस्रो लहर आएन भने लक्ष्यअनुसार राजस्व संकलन गर्न कुनै मुस्किल हुँदैन ।”अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । प्रतिस्थापन विधेयकमा लक्ष्य बढाएर १० खर्ब ५० अर्ब रुपैयाँ पु-याइएको छ । राजस्वको लक्ष्य बढे पनि हासिल गर्न भने मुश्किल नहुने ढकालको तर्क छ ।

त्यस्तै खर्चतर्फ भने सरकारले शुक्रबारसम्ममा ९७ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ । जसमा ६३ अर्ब ८७ करोड रुपैयाँ चालू, दुई अर्ब ९७ करोड रुपैयाँ पुँजीगत र ३० अर्ब ७३ करोड वित्तीय व्यवस्थापनमा खर्च गरेको छ । सरकारी खर्च बढेसँगै बजारमा तरलता बढ्ने अपेक्षा गरिए पनि नजिकिँदै गरेको चाडपर्वका कारण बैंकिङ प्रणालीबाट फेरि नगद बाहिरिने हुनाले वित्तीय संस्थामा रहेको ऋणयोग्य रकममा संकुचन नै रहने अर्थविद्हरूको अनुमान छ ।

प्रतिकृया दिनुहोस्